२ जेष्ठ २०८१, बुधबार

एमाले सुदूरपश्चिमको पहिलो अधिवेशनको लोगो सार्वजनिक



धनगढी/ नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले असोज २१ र २२ गते हुने पहिलो प्रदेश अधिवेशनले सर्वसम्मतिले नेतृत्व छनोट हुने दावी गरेका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको शनिबार लागो सार्वजनिक गर्दे उनले सो कुरा बताए । उनले नेपालको चुच्चे नक्सा, दोधाराचाँदनीको झोलुंगे पुल, धार्मिक तथा पर्यटकीय क्षेत्र, तराइको खाद्यान्न भण्डार, प्रमुख नदी झल्किने गरेर पहिलो अधिवेशनको लोगो बनाइएको बताए ।

एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सोही कार्यक्रममा दिएको जानकारी अनुसार सो अधिवेशनको केन्द्रीय अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । अध्यक्ष भण्डारीले ५३ हजार २५२ पार्टी सदस्यबाट झण्डै छ सय प्रतिनिधि छानिने बताए । ती मध्ये १२० जनाको हाराहारीमा जनसंगठनबाट अप्रत्यक्षरुपमा प्रतिनिधि छानिएर आउने भएका छन् ।

सुदूरपश्चिममा असोज १५ गते अधिवेशनका प्रतिनिधि छनौट भइसक्ने अध्यक्ष भण्डारीले बताए । प्रत्यक्षरुपमा प्रतिनिधि छान्न अन्यतर्फ १०० र दलिततर्फ ७५ बराबर एकजना प्रतिनिधि छानिने व्यवस्था छ । अन्यतर्फका प्रतिनिधि पालिकास्तरबाट र दलिततर्फका प्रदेश निर्वाचन क्षेत्रबाट छानिने व्यवस्था सो पार्टीले गरेको छ ।

यस्तै गरेर छानिने प्रतिनिधिमा ३३ महिला र १० प्रतिशत युवा अनिवार्य गरिएको अध्यक्ष भण्डारीले बताए । अधिवेशनका लागि विभिन्न समितिहरु पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार