२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री स्कटिङ छोडेर एमाले नेता भेट्न गएको आशंका



धनगढी/ मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो गाडी र स्कटिंग छोडेर हिडेका छन् । उनी आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीको गाडीमा प्रदेश सभाबाट राति ७ : ३० बाहिरिएका हुन ।

मुख्यमन्त्री शाह, अर्थमन्त्री शाही र नेकपा (एकीकृत समाजवादी) का दलका नेता दीर्घ सोडारी एउटै गाडीमा बाहिरिएका हुन्।

अर्थमन्त्री शाहीको गाडीमा तीनै जना हतारहतार बाहिरिएका थिए। मुख्यमन्त्री शाहले आफ्नो गाडी र स्कटिङ प्रदेश सभा बाहिर छोडेरै अर्थमन्त्रीसँग गएका हुन्। उनीहरु अचानक प्रस्थान गरेपछि मुख्यमन्त्रीको स्कटिङ सुरक्षा टोली अलमलमा परेर त्यहीँ रोकिएको छ।

प्रमुख प्रतिपक्ष एमालेले भागभण्डामा सरकार लागेको भन्दै बैठकमा भाग लिन नमानेपछि मुख्यमन्त्री एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई भेट्न गएको अनुमान छ । एमालेसंगै राप्रपा र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले समेत बैठकमा भाग लिन नमानेपछि सरकारलाई प्रतिपक्ष विना नै बैठक चलाउन नैतिक संकट परेको हो ।
आज दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट पारित गर्नका लागि प्रदेश सभा बैठक बोलाइएको थियो।

पहिलोपटक ५ बजे सम्मको लागि र दोस्रो पटक ७ बजेको लागि बोलाइएको थियो। तर राति ८ः ३० सम्म बैठक बसेको छैन।
बैठक बस्ला कि नबस्ला भनेर प्रदेश सभा सदस्यहरु अन्योलग्रस्त तरिकाले प्रदेश सभामा बसिरहेका छन् । एमालेसहितका प्रतिपक्षका सांसदहरु भने घर जाने भनेर प्रदेश सभा परिसरबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार