४ जेष्ठ २०८१, शुक्रबार

एमाले सांसद पाठकद्धारा सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता



धनगढी/ नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १ (क) अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।

खर्च शिर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरग मन्त्रालयहरुका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ । यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै नीति र विधि मिचिएको प्रस्तावमा उल्लेख गरिएको छ ।

एमालेले सो बजेट विनियोजन गरिनुले अख्तियारको समेत दुुरुपयोग भएकाले असहमति रहेको जनाएको छ । प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतीको नीतिगत असमझदारी भएको बताए ।

प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो । तर बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।

मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचन क्षेत्रमा कार्यान्वयन हुने पूर्वाधार विकास कार्यक्रमको तीन करोड बजेट बढाएर पाँच करोड पुगाउने सहमति गर्दै अनावश्यक योजना समेत हटाउने सत्तारुढ गठबन्धनमा सहमति गराएका छन् । सो सहमतिबारे सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आआफ्नो संसदीय दलमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार