निवर्तमान मुख्यमन्त्री रावलले भने, ‘यो बजेटले देश र प्रदेशको जीवन रक्षा गर्न सक्दैन’
धनगढी/ निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आव ०८०र०८१ को बजेट स्वार्थमुखी भएको बताएका छन्।
सुदूरपश्चिम सरकारले असार १ गते ल्याएको आगामी आवको बजेटमा मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा बोल्दै रावलले नीतिगत भन्दा पनि नेतागत बजेट आएको टिप्पणी गरेका हुन।
निवर्तमान मुख्यमन्त्रीसमेत रहेका रावलले सांसद विकास कोष लागू गरेर वर्तमान सरकारले जनविरोधी काम गरेको पनि बताए।
‘यो बजेटले देश र प्रदेशको जीवन रक्षा गर्न सक्दैन। सरकारले नीतिगतभन्दा पनि नेतागत बजेट ल्यायो,’ उनले भने। रावलले सत्ता गठबन्धनले कुनै प्रगति गर्न नसकेको र बजेटले थप निराशा पैदा गरेको बताए।
भूकम्पपीडितहरूको समस्या सम्बोधन गर्न नसकेको, भूमिहीन, सुकुम्बासी गरिब जनताको समस्यामा सम्बोधनमा सरकार मौन रहेको उनले बताए। रावलले प्रदेशको समृद्धि र विकासका लागि बजेट बाधक रहेको बताए।
सरकारले कृषिमा आत्मनिर्भर गराउने नारा लिए पनि त्यो अनुसारको बजेट विनियोजन गर्न नसकेको रावलको भनाई थियो।