४ आश्विन २०८१, शुक्रबार

बजेट छलफल शुरु, असन्तुष्टी कायमै सत्तापक्षका सांसदले छलफलमा भाग लिएनन्



धनगढी/ संवैधानिक व्यवस्थाअनुसार बजेट पारित गरिनु पर्ने दिन सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल शुरु भएको छ ।

बैठक शुरु भए पनि सत्ता गठवन्धनका प्रदेश सभा सदस्यहरुले असन्तुष्टी कायम राख्दै छलफलमा भाग लिएनन् । सरकारलाई चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका छन् । उन्मुक्तीबाहेक सबै सरकारमा पनि छन् ।

तर मंगलबारको छलफलमा मुख्यमन्त्रीको दल नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले् मात्र भाग लिए । उन्मुक्तीका पनि दलका नेता बोलेनन् । सो दलका कैलाश चौधरीले बजेटको चर्को विरोध गरे । ने्कपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी ) का प्रदेश सभा सदस्यहरुले छलफलमा भाग लिएनन् ।

सरकारको पक्षमा मतदान गरेर प्रतिपक्षी वेञ्चमा बस्दै आएका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीले पनि बजेटको चर्को आलोचना गरे ।

बजेटको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावल र राप्रपाका खेमादेवी विष्टले बजेट उपयुक्त नभएको टिप्पणी गरे ।

सत्तापक्षका प्रदेश सभा सदस्यहरुले बजेट बारे प्रदेश सभा बैठक चल्न दिने तर बजेटमा आफ्ना माग समेट्ने गरेर सरकारसंग छलफल गर्ने नीति अन्तरगत भाग नलिएको एकीकृत समाजवादीका उपनेता प्रकाशबहादुर रावलले बताउनुभयो ।

सोही नीति अनुसार मंगलबार साँझ सत्तारुढ दलका मुख्य प्रदेश सभा सदस्यसित मुख्यमन्त्रीले छलफल गर्देछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार