सत्तारुढ दलकै दवावपछि सुदूरपश्चिम प्रदेश सरकार, बजेट संशोधन गर्न तयार
धनगढी / सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितीमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबाबमा परेको सरकार संशोधन गर्न तयार भएको हो ।
तीन दलले बजेट पारित गर्न नसकिने निर्णय गरे लगत्तै सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो । सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमती गरेको छ ।
‘मुख्यमन्त्री र मन्त्री ज्यूहरुले अहिलेको बजेटको आकार नघटाएर बजेट संशोधन गरी तपाईहरुले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ माओवादीका प्रमुख सचेतक मानबहादुर धामीले भने, ‘उहाँहरुले खाका तयार पारेर छलफलका लागि फेरी बोलाउने कुरा छ ।’
प्रदेश सरकारले बजेटमा समावेश गर्न छुटेका सांसदहरुले पेश गरेका योजना समेटेर संशोधन प्रस्ताव तयार गर्नेछ भने उक्त प्रस्तावमा संशोधन प्रस्ताव भन्ने शब्दावली नराख्ने समझदारी पनि बनेको अर्का प्रदेशसभा सदस्यले बताए । सोमबारको छलफलमा साढे २ अर्बको पूरक बजेट ल्याउने विषयमा पनि छलफल भएको थियो तर त्यसले मूर्त रुप पाउन सकेन ।
‘पूरक बजेटको विषयमा थोरै कुरा उठेको थियो तर त्यो सम्बन्धमा धेरै छलफल भएन । हाम्रो जोड अहिलेकै बजेट संशोधन गर्नुपर्छ भन्नेमा रह्यो,’ नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘तपाईको माग सम्बोधन गछौँ । संशोधनको खाका बनाएर छलफल गछौँ भनेर मुुख्यमन्त्री ज्यूूले भन्नुुभएको छ ।’
चौधरीले सत्तारुढ गठबन्धनका प्रमुख तीन दल बजेट संशोधन गर्नुपर्ने अडानमा एकमत भएकाले सरकार तयार नभए बजेट फेल हुने चेतावनी समेत दिएका छन् । उनकाअनुसार सत्तारुढ गठबन्धनले तयार पारेको संशोधन प्रस्तावमा मंगलबार दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच छलफल हुनेछ ।
बजेटप्रती चर्को असन्तुष्टि जनाउदै आएका सत्तारुढ माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा९एकीकृत समाजवादी० पार्टीले संशोधन नभए यथास्थितीमा बजेट पारित गर्न नसकिने निर्णय गरेका छन् । यसअघि कांग्रेस समेतका सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले बजेट संशोधनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर माग गरेका थिए ।
आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले १ असारमा अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए । बजेटप्रतीको असन्तुष्टिकै कारण त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको थिएन । सोमबार बैठक बसेपनि सवारी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगीत भएको थियो । सभामुखले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत गरेका हुन् ।