२७ पुष २०८१, शनिबार

बजेट आएको २५ दिनपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, बजेट बारे छलफल नहुने



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ४ बजे बस्ने भएको छ । सो बैठकबाट असार ५ गते सडक दुर्घटनामा परेर ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

शोक प्रस्ताव लगत्तै बैठक सकिने सोमबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले बताए ।

सभामुख भीम भण्डारीले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेटको छलफल कहिले गर्ने भन्ने टुंगो नलागे पनि हामी सबैले भोली मंगलबार नै छलफल गर्नु पर्ने धारणा राख्यौ डा. जोशीले भने ।

बजेट बारे सत्ता पक्षवीच नै एकमत नहुँदा प्रदेश सभामा बजेट बारे छलफल भएको छैन ।

आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले असार १ गते आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएपछि अहिलेसम्म बैठक बस्न सकेको थिएन । बजेट प्रस्तुत भएपछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।

बजेट असारभित्र नै पारित गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सत्ता पक्षका नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ती पार्टीका प्रदेश सभा सदस्यहरुले काठमाडौसम्म पुगेर समेत शिर्ष नेताहरुसंग बजेट बारे असन्तुष्टी पोखेका छन् ।

आइतबार धनगढीमा बसेको कांग्रेस संसदीय दलको बैठकमा समेत प्रदेश सभा सदस्यहरुले चर्को असन्तुष्टी व्यक्त गरेका थिए । बैठक मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार