१५ बैशाख २०८१, शनिबार

ललिता निवास जग्गा प्रकरणमा ‘मेरो सम्बन्ध र संलग्नता छैन’ : शर्मा




काठमाडौं / बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो नाम मुछिनेगरी समाचार प्रकाशित भएपछि पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव दीनानाथ शर्माले त्यसको खण्डन गरेका छन् । कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको बताउँदै उनले एक विज्ञप्ती जारी गर्दै खण्डन गरेका हुन् ।

समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २०६८/२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद्मा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा आफू जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारवाही र निर्णय प्रक्रियामा आफ्नो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको दाबी गरेका छन् ।

आफ्नो व्यक्तिगत जीवनमा अन्यथा हुनेगरी समाचार प्रकाशन गरिएको भन्दै भ्रामक समाचारको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा जनतासमक्ष अनुरोध गरेका छन् ।

भ्रष्टाचार र अनियमितता हाम्रो देशको गम्भीर समस्या भएको उल्लेख गर्दै शर्माले प्रकाशित गरेको प्रेस नोटमा यस्तो विकृति र विसंगतिका बिरुद्ध कडाइका साथ कारवाही हुनुपर्दछ भन्ने मान्यतामा नेकपा (माओवादी केन्द्र) र आफू सदा दृढतापूर्वक प्रतिवद्ध रहेको उनले उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुका विरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शिताको पक्षमा उभिन समेत अपिल गर्न चाहन्छु ।’ उनले विज्ञप्तिमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार