२० बैशाख २०८१, बिहीबार

खप्तडमा छायांकन गरिएको गीत सधैं यस्ता मिठा कुरा सार्वजनिक (भिडियो सहित)



काठमाडौं/ सुदूरपश्चिममा पर्ने प्राकृतिक तथा आध्यात्मिक ठाउँ खप्तड क्षेत्रमा छायांकन गरिएको गीत सार्वजनिक भएको छ ।

शुक्रबार नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा, पूर्व पर्यटनमन्त्री प्रेम आले, राष्ट्रिय सभा सदस्य महेश महरा, सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय पदम शाही र शिवसिंह वलीको उपस्थितिमा गीतको विमोचन गरिएको हो ।

गीतका विषयमा बोल्दै प्रमुख अतिथि थापाले पर्यटन प्रवद्र्धनमा यसले योगदान गर्ने बताए । उनले भने, सिर्जनशील उपाय अपनाएर युवा साथीहरुले बनाएको गीतबाट त्यो क्षेत्रको सौन्दर्य र महत्व फैलिने विश्वास लिएको छु ।

पूर्व पर्यटनमन्त्री आलेले त्यसैका लागि बनाइएको सरकारी संरचनाले यस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उनले भने, साथीहरुले गरेको काम हेरें । मलाई सरकारबाट सहयोग भएको होला भन्ने लागेको थियो तर आफैंले गर्नुभएको रहेछ। यस्ता सिर्जनशील उपायबाट प्रचार गर्ने काममा सरकारले हातेमालो गर्नुपर्छ ।

सुगम संगीतका चर्चित गीतकार तथा संगीत दिपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र वेनिशा पौडेलको रहेको छ । पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागि समेत उपयुक्त ठाउँका रुपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजन समेत गरेका कलाकार सनम कठायतले जानकारी दिएका छन् ।

डोटी घर भएका कलाकार कठायतले आफ्नो क्षेत्रलाई प्रवद्र्धनका लागि अभियानका रुपमा यसपटक खप्तडमा केही गीत सुटिङ गरिएको बताए । उनले भने, हामीले आफ्नो कर्तव्य ठानेर यसपल्ट सुटिङ स्पट खप्तड रोज्यौं । अभियानमा बझाङको खप्तड छान्ना गाउँपालिका, कार्की क्रियसनलगायतले सघाएका छन्। यो गीतम कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ ।

गीत निर्देशन खप्तड क्षेत्र फैलिएको अर्को जिल्ला बाजुरा घर भएर अहिले पत्रकारिताका साथै देउडा गीत लेखन र म्युजिक भिडियो निर्देशन समेत गरिरहेका डिबी खड्काले गरेका छन् ।

क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दिपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय भएकाहरु हुन । म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन् । गीत युट्युबमा कार्की क्रियसनुबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार