३ आश्विन २०८१, बिहीबार

रावलसित बार्ता गर्ने टोली हरायो, वार्ताको नतिजा आएन




धनगढी/ नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलसँग जिम्मेवारी दिने भन्दै एक चरण वार्ता गरेको थियो । त्यो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक गरिए पनि दोस्रो चरणको वार्ता अथवा रावललाई जिम्मेवारी दिने कुराको टुंगो भने लागेको छैन ।

एमालेको १० औं महाधिवेशनपछि पार्टीको कुनै जिम्मेवारीमा नरहेका रावल अहिले पार्टीमा निष्क्रियजस्तै अवस्थामा छन् ।
बेलाबखत रावलले एमाले नै छोड्ने चर्चा चले पनि उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पुर्याएको भन्दै एमालेमै बस्ने बताउँदै आएका छन् ।

सोही क्रममा केही समयअगाडि एमालेले चलाएको मिसन ग्रास रुट अभियानका क्रममा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । अछाममा उनले रावलको आलोचना गरेपछि सभामै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

त्यसपछि पनि रावल र पौडेलको आपसमा जुहारी नै चलेको थियो। उनीहरुले एकअर्काको आलोचना गरेका थिए । सो घटनापछि एमालेले गत चैत १८ गते पार्टीको केन्द्रीय सचिवालय बैठकबाट रावलसँग वार्ता गर्न भन्दै समिति गठन गरेको थियो ।
उपाध्यक्ष पौडेलकै संयोजकत्वमा गठित उक्त वार्ता समितिमा पार्टीका सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सदस्य थिए ।

सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरूट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदुरपश्चिमकै नेताहरू रहेको वार्ता समिति बनाइएको थियो ।

वार्ता समितिले सचिवालय बैठकको दुई हप्तापछि रावलसँग छलफल गरेको थियो। तर एक चरणमा वार्ता सकेको समिति अहिले बेपत्ताजस्तै छ ।

वैशाख ३ मा पहिलोपटक समिति र रावलको बीचमा छलफल भएको थियो। एमाले मुख्यालय च्यासलमा भएको छलफलपछि नेताहरूले निकै उत्साहपूर्ण प्रतिक्रिया दिँदै संवाद सहमतिनजिक पुगेको र लगत्तै अर्को छलफल गरेर ठोस सहमति गरेर अघि बढ्ने बताएका थिए । तर त्यसपछि अहिलेसम्म समिति र नेताहरु यस विषयमा मौन बसेको पाइएको छ ।

यस विषयमा समितिका सदस्यसमेत रहेका एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने समितिले आफ्नो काम सकेको तर नेतृत्वले जिम्मेवारी दिने कुरामा कुनै निर्णय नगरेको जानकारी दिए ।

उनका अनुसार एक चरणको वार्ता सकारात्मक भएपछि समितिले पार्टी नेतृत्वलाई जिम्मेवारी दिनका लागि सिफारिस गरेको थियो तर पार्टी नेतृत्वको सो विषयमा कुनै धारणा नआएको उनले बताए।

थापाले भने, ‘हामीले कुरा गरेका हौं । उहाँ (भीम रावल) पार्टीमा रहनुहुन्छ। रहनुपर्छ । उहाँले आफ्ना कमीकमजोरीलाई महसुस गरेर उहाँलाई जिम्मेवारी दिएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । उहाँले पार्टी अध्यक्षसँग कुरा गर्ने भनेर भन्नुभाथ्यो। तर उहाँको कुरा भएको देखिँदैन । कार्यदलले काम सकेको छ । तर जिम्मेवारी दिने कुरा पार्टी नेतृत्वको हो । पार्टीको मूल नेतृत्वले किन जिम्मेवारी दिएको छैन भन्ने कुरामा हामी पनि जानकार छैनौ ।’

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष ओली र पूर्व उपाध्यक्ष रावलको बीचमा भेट गराएर संवादहिनता तोडाउने कामको जिम्मा संयोजक पौडेलले पाएका थिए तर त्यो हुन सकेको छैन ।

यस्तो भन्छन् डा. रावल
नेता डा. भीमबहादुर रावलले भने पहिलो चरणको वार्तापछि थप केही नभएको बताए।

उनले भने, ‘उहाँहरुले (समितिका सदस्यहरु) पहिलो चरणको छलफलपछि खबर गर्छौं भन्नुभएको थियो तर खबर भएन । दोस्रो चरणमा त्यो प्रक्रिया भंग भएको हो कि जारी छ? मलाई जानकारी छैन ।

जुन नेतृत्वको कुरा छ, मेरो अहिले पार्टी नेतृत्वसँग कुनै छलफल भएको छैन । मलाई अध्यक्षज्यूसँग पनि समय मिलाएर कुरा गराउँछौं, र, तपाइलाई खबर गर्छौं भन्नुभएको थियो तर खबर आएन । अब त्यो वार्ता देखाउन मात्रै गरिएको थियो भने मेरो भन्नु केही पनि छैन ।’

रावलले अहिले पनि आफू एमालेमै रहेकाले पार्टीका इमानदार नेता तथा कार्यकर्ताको माग बमोजिम नै अगाडि बढ्ने बताए ।
पार्टीको पूर्व उपाध्यक्षसमेत रहेका नेता रावल एमालेको दशौँ चितवन महाधिवेशनदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर छन् रावलले दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी पनि दिएका थिए ।

त्यसपछि पार्टीले उनलाई केन्द्रीय सदस्य तथा सल्लाहकारको भूमिका दिने प्रयास गरेपनि उनले त्यो अस्वीकार गरेका थिए ।त्यसपछि उनलाई पार्टीमा सक्रिय बनाउन वार्ता थालिएको थियो ।

रावल सुदूरपश्चिममा पकड भएका एमाले नेताको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार