८ पुष २०८१, सोमबार

आरक्ष पीडित काठमाडौंमा भौतारिराखेपछि सांसद तामाङले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं/ नेकपा एमालेका सांसद तारालामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट ०५८ सालमा विस्तापित पीडितहरु पुनस्र्थापना र क्षतिपूर्ति माग्दै दुई महिनादेखि काठमाडौंमा भौतारिरहेका बेला सांसद तामाङले प्रतिनिधिसभाको शून्य समयमा सोमबार यो विषय उठाएका हुन् ।

‘कतिपटक उठाउनुपर्ने हो, कञ्चनपुरका आरक्ष पीडितहरु अहिले पनि काठमाडौंमा भौतारिराखेका छन् । सरकारले चासो दिएको छैन । यसतर्फ छिटो ध्यान जाओस्,’ उनले भने । आरक्ष विस्तारका क्रममा आफ्नो घरखेत खोसिएपछि २२ वर्षदेखि सडक किनारमा शिविरमा बस्दै आएका पीडितहरुको टोली काठमाडौं आएर पछिल्लो दुई महिनामा प्रधानमन्त्री, परराष्ट्र, वनमन्त्री, विभिन्न दलका नेताहरु भेटेर समस्या समाधानका लागि आवाज उठाए पनि सरकारले कुनै ठोस कदम चालेको छैन ।

आरक्ष पीडित संघर्ष समितिमा सचिव प्रेम दत्त भट्टले राज्य सञ्चालकबाट आश्वासन धेरै पाए पनि आफूहरुको माग सम्बोधन कसैले ध्यान नदिएको गुनासो गरे ।

सांसद तामाङले कञ्चनपुरको दोदा नदीमा २०६५ मा आएको भीषण बाढीबाट विस्थापितहरुको अझैसम्म पुनस्र्थापना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । ‘बारम्बार आवाज उठाए ।

तर बाढीबाट विस्थापित भएर जंगलको किनारामा बसेका राना थारु र पहाडी वस्तीको अझै सरकारले व्यवस्थित गर्न सकेको छैन,’ उनले भने, ‘साथै लालझाडी, बेलौरी र पूर्नवासको केही वडाहरु पुरै डुबानमा पर्छन् । यसको समाधान गरियोस् । बाढी पहिरोबाट पीडितहरुको लागि सरकारले उचित ध्यान दियोस् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार