३ आश्विन २०८१, बिहीबार

पालिका सार्न खोज्दा मोहन्यालमा कुटाकुट



धनगढी/ कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका छन् । गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा कुटाकुट भएको हो ।

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुँदै गर्दा स्थानीयसहित केही अराजक तत्त्वले आक्रमण गरेको बताए । उनले स्थानीयको आक्रमणबाट आफ्नो हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका बताए ।

राति भागाभागको स्थिति आएकाले कसलाई कति चोट लागेको छ भन्ने यकिन भइनसकेको अध्यक्ष उपाध्यायले बताए । त्यस्तै, ढुंगामुडा समेत प्रहार गरिँदा गाउँपालिकाको नवनिर्मित भवन र प्रहरी चौकीमा समेत क्षति भएको बताइएको छ । हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार