३ आश्विन २०८१, बिहीबार

सेनाको संख्याबारे राष्ट्रिय सहमति खोजौ



काठमाडौं/ नेकपा एमालेका सांसद तारा लामा तामाङले नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटक पटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरुपण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभामा शुक्रबार सम्पन्न विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले भने, ‘नेपालीहरुको गौरव सेनाको संख्याबारेमा बारम्बार टिकाटिप्पणी हुने गरेको छ । यसलाई राष्ट्रिय सहमति गरेर टुंग्याउ । सेनाबारे गैरजिम्मेवार तरिकाले बोल्नुहुँदैन ।’

सेना पनि समयानुकूल चल्ने र सदनमा प्रश्न उठाउन पाउनेगरी व्यवस्थित गर्न माग गर्दै हरेक सैनिकले सरकार अनुभूति हुनेगरी रक्षा मन्त्रालयले सेनालाई व्यवस्थित गर्न रक्षामन्त्रीको ध्यानाकर्षण गराए ।


सांसद तामाङले सुरक्षामा अहोरात्री खटिने सुरक्षाकर्मीमा रहेको सुविधा विभेद हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए । ‘कमसेकम जिल्लाको दररेटअनुसार सुरक्षाकर्मीलाई खानाको व्यवस्था गर्नुपर्छ । अहिले सानो मात्रामा दिएको छ । संशोधन गरियोस्,’ उनले भने ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको दयनीय अवस्था रहेको भन्दै बीओपी व्यवस्थित गर्न सुझाव दिए । ‘कारागार व्यवस्थित गरियोस् । नेपालगंज र नुवाकोटमा बनेको नयाँ कारागारा यथाशिघ्र सञ्चालनमा ल्याइयोस्,’ उनले भने । विपद् पूर्वतयारीमा ध्यान दिन र अध्यागमन कार्यालय समयानुकूल सुव्यवस्थित बनाउन उनले माग गरे ।

तामाङले बजेट विनियोजनमा पर्यटन मन्त्रालय गम्भीर नभएको र पर्यटनमा उल्लेख्य योगदान भएको निजी क्षेत्रलाई प्रोत्साहन हुने कुनै कार्यक्रम नभएको बताए । भारतबाट आउने पर्यटकहरुलाई सय रुपैयाँभन्दा माथिको नोट ल्याउन नदिएपछि लामो समय बस्नेगरी आउन बोरामा पैसा ल्याउनुपर्ने बाध्यता सिर्जना गरिएको भन्दै यसले पर्यटनमा असर गरेको उनको भनाइ छ ।

पर्यटनमन्त्रीको सिफारिसमै पर्यटकको हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन क्षेत्रमा झन अफ्ठेरो पारेको बताए । हिल स्टेसनदेखि पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले गर्ने भौतिक निर्माणमा ५ वर्षसम्म जिरो ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरे राम्रो हुने उनको भनाइ थियो ।

सांसद तामाङले नेपाल वायुसेवा निगमलाई व्यवस्थित बनाउन कार्यकारी महानिर्देशकलाई खुल्ला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न उनले सुझाव दिए । निगम घाटामा भएका बेला कर्मचारीहरु धेरै भएको, अहिलेकै मन्त्रीको पालामा पनि ४९ जना भर्ना गरिएको भन्दै उपयुक्त नभएको बताए । उनले कर्मचारी कटौती गर्न माग गरे ।

पर्यटनमन्त्री बजेटमा सुदूरपश्चिमलाई उपेक्षा गरेको तामाङको गुनासो थियो । ‘उहाँको वडा जति पनि सुदूरपश्चिममा बजेट परेको छैन । त्यसमा पनि मेरो कञ्चनपुरमा पर्यटनको गोटीहोम क्षेत्र, खप्तड क्षेत्रलगायतबारे मन्त्रीलाई ध्यानाकर्षण गराएको थिए । केही न केही पर्छजस्तो लागेको थियो । तर एउटा पनि योजना हाल्नुभएन,’ उनले भने । संस्कृति मन्त्रालय सबै धर्म जाति र समुदायको हुनुपर्ने तामाङको धारणा थियो ।

सरकार सबैको हो भन्ने अनुभूति गराउन उनले ध्यानाकर्षण गराए । ‘केवल चार पाँच जिल्लाको हुनेगरी र मन्त्री कुनै पार्टीको हुनेगरी काम नगरियोस्,’ उनले भने । सरकार सत्ता कसरी सत्ता टिकाउने खेलमा लागिराखेको भन्दै तामाङले यो नेपाली जनताका लागि दुर्भाग्य भएको बताए । ‘यो सरकार जति रहन्छ । हाम्रो लागि त्यति घाटा छ,’ तामाङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार