१० श्रावण २०८१, बिहीबार

बझाङ दुर्घटनाको छानबिन गर्न समिति बन्यो



धनगढी/ बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ ।

बिहीबारको मन्त्री परिषद बैठकले दुर्घटनाको छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव (कानुन) गंगाबहादुर खरेलको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरी, प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी बल ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव (प्रशासन) नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सदस्य रहेका छन् ।

समितिलाई घटनाको सम्बन्धमा अनुसन्धान गरेर १५ दिनभित्र प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रतिवेदन पेश गर्ने समयावधी दिइएको छ ।

असार ५ गते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंह सवार गाडी दुर्घटनामा परेर उनको निधन भएको थियो । मन्त्री सिंहसँगै उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो ।

गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन् ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी २५ मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार