३ आश्विन २०८१, बिहीबार

सांसद तामाङद्धारा मन्त्री सिंहलाई श्रद्धाञ्जली, बजेट बारे के बोले



धनगढी/ नेकपा एमालेका सांसद तारा लामा तामाङले मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सडक दुर्घटनामा परेर ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनकी पत्नी र भाउजुलाई श्रद्धाञ्जली दिएका छन् ।

उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

सांसद तामाङले प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकताको आधारमा भन्दा व्यक्तिको पहुँचको आधारमा रकम बाँडेको आरोप लगाए । सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे।

एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी संकलन गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए।

‘कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ,’ सांसद तामाङले बैठकमा बोल्दै भने।

सांसद तामाङले बजेटमा सत्तारुढ दल र मन्त्रीको मनपरीको समेत खुलेर विरोध गरे। उनले शहरी विकास मन्त्रालयअन्र्तगत पनि बजेट विनियोजनमा मन्त्रीले मनपरी गरेको आरोप लगाए। शहरी विकासमन्त्री सिता गुरुङले आफ्नो निर्वाचन क्षेत्र लक्षित बजेट ल्याएको भन्दै त्यसले क्षेत्रको जस्तो मात्र मन्त्री भएको सन्देश गएको टिप्पणी गरे ।

उनले भने, ‘मेरो क्षेत्रमा बजेट नपरेपनि केही छैन। तर, हिजो घोषित गरेका ठूला-ठूला आयोजनामध्ये एउटा आयोजना मात्र कार्यक्रम सम्पन्न गर्न बजेट ल्याएको भएको हुन्थ्यो भन्ने मेरो कुरा हो।’

सुदूरपश्चिम सरकारका पूर्वअर्थमन्त्री समेत रहेका सांसद तामाङले शहरी विकास मन्त्रालयलले कञ्चनपुरको पूनर्वासलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सरकारले जग्गा एकीकरण गरेर पूर्वाधार निर्माण गर्ने भनेर डीपीआर बनाउन करोडौं खर्च भएपनि सुदुरपश्चिममा बजेट विनियोजन नभएकोमा आपत्ति जनाए।

‘सरकारले कञ्चनपुरको पुनर्वासमा कहिले बजेट विनियोजन गर्दैन। राजा र पञ्चायत कालमा पुनर्वासमा १० हजार हेक्टरमा व्यवस्थित वस्ती बसालिएको छ। अहिले सरकारले मध्य लोकमार्गले छोएको पहाडी क्षेत्रमा १० वटा स्मार्ट सिटीको योजना राखेको देखियो,’ उनले भने, ‘नयाँ शहर भनेर ५२ वटा कार्यक्रम घोषणा समेत गरेको रहेछ। त्यसमा १ करोड बजेट विनियोजन गरेको छ। नयाँ नयाँ कार्यक्रम घोषणा गर्ने र करोडौं बजेट अरुमा घोषणा गर्ने यो राम्रो देखिएन। मैले पुनर्वासमा बजेट विनियोजन गर्ने विषयमा सबैसँग पहल गरे तर कसैले कुरा सुनेनन्,’ सांसद तामाङले भने।

सांसद तामाङले विमानस्थलमा सेटिङ गरेर घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई विदेश पठाउने काम भएको भन्दै असन्तुष्टि समेत जनाए। उनले वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन सरकार लाग्नुपर्ने धारणा राखे। यो प्रकरणमा सबैभन्दा बढी घातक अरवमा रहेका नेपाली दूतावास रहेको सांसद तामाङको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार