१० श्रावण २०८१, बिहीबार

दुर्घटनामा श्रीमती र भाउजु गुमाएका सुदूरपश्चिमका मन्त्री सिंहको निधन



धनगढी/ बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा श्रीमती र भाउजु गुमाएर आफू गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ ।

सो कलेजले जारी गरेको विज्ञप्तीमा मन्त्री सिंहको निधन भएको उल्लेख गरिएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भरत बोहराले पनि मन्त्री सिंहको निधन भएको पुष्टी गरे ।

गम्भीर घाइते भएका सिंहको उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

मेडिकल कलेजले कोहलपुरमा मन्त्री सिंहसंगै उपचार लागि आएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको अवस्था स्थिर रहेको जनाएको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

जेठ ५ गते मन्त्री भएपछि उनी पहिलो पटक गृह जिल्ला बझाङ जान थालेका थिए । तर उनको घर समेत रहेको सदरमुकाम जयपृथ्वी नगरपालिका नपुग्दै उनी चढेको गाडी दुर्घटनामा परेको थियो ।

मन्त्री सिंह नेपाली कांग्रेसबाट बझाङको प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार