११ बैशाख २०८१, मंगलवार

कैलालीमा शान्ति छ, तस्करी र लागूऔषध कन्ट्रोल गर्छौ : एसपी पाल (अन्तरर्वार्ता)



धनगढी/लामो समयदेखि केन्द्रीय अनुसन्धान ब्यूरो, अख्तियार अनुसन्धान आयोग, अपराध महाशाखा र पाँच महिना रानी पोखरीमा प्रहरी उपरीक्षकको भूमिका निर्वाह गर्दै हाल कैलालीमा प्रहरी उपरीक्षक भएर आइसकेपछि जिल्लाको समग्र शान्ति सुरक्षाका विषयमा केन्द्रित रहेर देबेन्द्रबहादुर पालसँग अनुमोदन दैनिकका लागि टंक कुवँरले गरेको कुराकानी :

कैलालीमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
कैलालीमा शान्ति सुरक्षाको अवस्था राम्रै छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो जिल्ला कैलाली नै भएका कारण र सुल्ला सिमाना भएकाले पनि भन्सार चोरी निकासी हुनुका साथै लागूऔषध ओसारपसार, भारतमा चोरी गरेर नेपाल ल्याउने जस्ता छिटपुट घटनाहरु भइरहेका छन् । यस क्षेत्रमा ठूला अपराधका घटनाहरु भएका छैनन् । अपराधलाई कम गर्न र शान्ति सुरक्षालाई मजबुत पार्नका लागि प्रहरी परिचालन गरिरहेका छौं । अहिलेसम्म यस क्षेत्रमा शान्ति सुरक्षालाई खलल पुग्ने ठूला घटनाहरु भएका छैनन् ।

खुल्ला सीमानाका भएको जिल्ला कैलाली भएकाले सुरक्षाका दृष्टिकोणले चुनौती कत्तिको छ ?
अवश्य नै चुनौती रहेको छ । बढीजस्तो अहिले अपराधलाई बढवा दिन लागूऔषध नै हो । हामीलाई सबभन्दा बढी चुनौती लागूऔषध नियन्त्रण गर्नुपर्ने देखिन्छ । विगतमा ठूला अपराधका घटना नभएका होइनन् पनि, ठूला अपराधलाई बढवा दिने लागूऔषध ओसारपसार र सेवनकर्ताबाट हुने हो । यसलाई नियन्त्रण गर्न सके शान्ति सुरक्षामा त्यति चुनौती देखिदैन् । अबका दिनमा यस्ता घटना हुन नदिन जनशक्ति परिचालन गरी बढी जस्तो सीमानाकालाई नै टारगेट गरेका छौं । यस क्षेत्रमा घटना हुन नदिन र नियन्त्रण गर्न हामी अहोरात्र खटि नै राखेका छौं ।

‘प्रहरी हाम्रो साथी’ भन्ने नारा छ, यो कत्तिको प्रभावकारी छ ? कत्तिको लागू भइरहेको छ ?
यो अभियान प्रभावकारी नै छ । विगतमा यसैमा आधारित रहेर सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरी स्कुल, कलेजका विद्यार्थीहरुलाई दुब्र्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं । अन्य अपराधका विषयमा कुन क्षेत्रमा अपराध भइरहेको छ भन्ने विषयमा जानकारी पाउन पनि नगरपालिका र वडाहरुसँग समन्वय गरी अघि बढिरहेका छौं । यो नाराका कारण अपराध न्यूनिकरण गर्न मद्दत पुगेको छ ।

घरेलुहिंसा पनि मूल समस्याका रुपमा देखा परेको छ, सो समस्याका विषयमा के गरिरहनु भएको छ ?
अवश्य, नै घरेलु हिंसापनि विकराल समस्याका रुपमा देखिएको छ । कैलालीमा दुई पालिका पहाडी क्षेत्रमा छन् । अझै पनि गरिबी, बेरोजगारी, अशिक्षा भएका कारण घरेलु हिंसा भइरहेका छन् । त्यसै गरी तराईका अन्य पालिकामा पनि घरेलु हिंसाका घटना भइरहेका छन् । हिंसाका विषयमा समुदायस्तरबाट उजुरी आए कानुनी कारबाही हुन्छ, गरेका पनि छौं । नदेखिने घरेलु हिंसाका सन्दर्भमा भने कारबाहीको दायरामा ल्याउन सकिएको छैन । त्यसका लागि सबै सरोकारवालाले प्रहरीलाई सहयोग गर्न पनि अनुरोध गर्दछु ।

जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा के–कस्ता नयाँ योजना ल्याउनु भएको छ ?
यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सबैभन्दा पहिले लागूऔषध, चोरी लुटपाट, सीमा अपराध, भन्सारछलि लगायतका अपराधलाई न्यूनिकरण गर्न बढी मात्रामा प्रहरी परिचालन, युवाहरुलाई लागूऔषध दुव्र्यसनीबाट बचाउन सम्बन्धित घर परिवार स्थानीय निकाय, सामुदायिक साझेदारी कार्यक्रमको माध्ययमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन र पछिल्लो समय लागूऔषधमा फसेका युवाहरुलाई सुधार गर्न धनगढी उपमहानगरपालिकासँगको समन्वयमा सुधारगृह पनि सञ्चालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार