१३ बैशाख २०८१, बिहीबार

बजेटका सिद्धान्त र प्राथमिकताले लक्ष्य स्पष्ट भएन : पाठक (भिडियो सहित)



धनगढी/ प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सरकारका तर्फबाट प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले सरकारको लक्ष्य स्पष्ट नभएको बताएका छन् ।

मंगलबार प्रदेश सभामा प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य पाठकले प्रदेश सरकारले प्रस्तुत गरेको सिद्धान्त र प्राथिमकता हेर्दा प्रदेश सरकारले आगामी एक बर्षमा गर्न चाहेको के हो भन्ने नै प्रष्ट नभएको बताए ।

सदनमा प्रस्तुत भएको दस्तावेजमा आफ्नो असक्षमतालाई चुनौती भनेर व्याख्या गर्न खोजिएको भन्दै पाठकले पूँजिगत बजेट खर्च हुन नसक्नु चुनौती नभई प्रदेश सरकारको असक्षमता भएको बताए ।

‘पूजीगत बजेट खर्च हुन नसक्नुलाई आर्थिक मामिलामन्त्रीज्युले चुनाती भन्नुभएको छ, तर यो चुनौती होइन समस्या हो र यसले प्रदेश सरकारको कार्य क्षेमता माथि प्रश्न यठाएको छ’– उनले भने ।

नेपालको संविधानले समाजवाद उनमुख अर्थतन्त्र हुने भनेकोले त्यतातिर जान नसक्नु सरकारको कमजोरी रहेको उनको भनाई छ । उत्पादनका सम्बन्धमा सैद्धान्तिक रुपमा स्पष्टताको अभावमा प्रदेश सरकार आगामी बजेटका प्राथमिकता निर्धारणमै चुकेको प्रदेश सभा सदस्य पाठकले बताए ।

प्राथमिकता निर्धारण गर्दा, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका कुरामा प्रदेश सरकारले के गर्न खोजेको छ भनने नै स्पष्ट नभएको उनले बताए ।

प्रदेश सरकारले आफ्नो आम्दानी बढाउने स्रोत पहिचान गर्न सक्नुपर्ने बताउँदै प्रदेश सभा सदस्य पाठकले स्थानीय तहहले बनाएका योजनामा मात्र प्रदेश सरकारले बजेट हाल्ने कुरा प्रदेश सरकाका मन्त्रीहरुले गरेका कारण हिजोआज धनगढीका होटलहरुमा वडा कार्यालयका लेटर प्याड र छाप बोकेर आएका मानिसहरुको भीडभाड बढेको बताए ।

उनले प्रदेशको बजेटको अधिकार प्रदेश सरकार र प्रदेश सभाको भएकोले योजना छानौट पनि प्रदेश स्तरबाटै हुनपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार