१ जेष्ठ २०८१, मंगलवार

१०१ दिनमा सरकार विस्तार अझै कृषि मन्त्रालय खाली




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफू मुख्यमन्त्री नियुक्त भएको एक सय एक दिनमा शनिबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । तर, नागरिक उन्मुक्ती पार्टी भागभण्डामा सहमत नहुँदा अझै पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली रहेको छ ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले शनिबार नै पद तथा गोपनियताको सपथग्रहण गराए । नवनियुक्त हुने मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउदलाई सामाजिक विकासमन्त्री र माओवादीकै रमेशसिंह धामी उद्योग, वन तथा वातावरणमन्त्री छन् । सिंह बझाङबाट, साउद अछामबाट र धामी कैलालीबाट प्रदेश सभामा निर्वाचित भएका हुन ।

माओवादीबाटै गीतादेवी माललाई उद्योग, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ । डडेलधुराकी माल समानुपातिककोटाबाट प्रदेश सभा सदस्य भएकी हुन । मुख्यमन्त्री शाहले उनलाई पनि शनिबार नै पद तथा गोपनियताको सपथग्रहण गराए ।

सपथ ग्रहण कार्यक्रममा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र प्रदेश सभा सदस्यहरु उपस्थिति थिए ।

रेशम चौधरी संरक्षक रहेको उन्मुक्ती पार्टीले दुईवटा मन्त्रालय मागेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली रहेको छ । उन्मुक्तीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मात्र दिन खोजिएको थियो ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तीलाई सरकारमा ल्याइने बताए । सुदूरपश्चिम प्रदेशमा मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने सम्बैधानिक व्यवस्था छ । शनिबार मन्त्रीपरिषद विस्तार भएपछि सो संख्या सात पुगेको छ । सात जनामध्ये छ जना मन्त्री र एक राज्यमन्त्री छन् ।

नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा शुरुदेखि नै कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार