२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार : साउद, धामी मन्त्री र गीता माल राज्यमन्त्री हुँदै




धनगढी/
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सरकार विस्तार गर्दे छन् । सरकार १०० दिन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सो जानकारी दिएका हुन ।

आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का अछामबाट प्रदेश सभामा निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्री हुने भएका छन् । माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेश सभा सदस्य गीता माल राज्यमन्त्री हुने भए पनि उनको मन्त्रालय बारे टुंगो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेशम चौधरी संरक्षक रहेको उन्मुक्ती पार्टीलाई दिइने सहमति भएको भए पनि सो पार्टीले मन्त्रीको नाम छानेको छैन । उन्मुक्तीबाट रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीमध्ये एक जना मन्त्री र राज्यमन्त्री पाउदा टीका थापा हुने चर्चा छ ।

यस्तै नेपाली कांग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि मन्त्रीको नाम पनि टुंगो लागेको छैन । दावेदार धेरै हुँदा कांग्रेसले मन्त्रीको नाम छान्न सकेको छैन ।

नवनियुक्त हुने मन्त्रीहरुको आज साँझसम्म भए पनि पद तथा गोपनियताको सपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए ।

मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने सम्बैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र दुई मन्त्री मात्र सरकारमा छन् ।

अहिले नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार