१० श्रावण २०८१, बिहीबार

समस्या समाधान गर्ने माग गर्दे आरक्ष पीडित काठमाडौमा



काठमाडौं/ कञ्चनपुरका आरक्ष पीडितले सांसदहरुसँग भेट गरेका छन् । विहीबार संसद भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरु भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो ।

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनरस्थापना भएको छैन । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन् ।

राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधबार काठमाडौं आएको थियो ।

टोलीले विहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारालामा तामाङसँग भेट गरेको छ । सचिव प्रेमदत्त भट्टकाअनुसार उनीहरुले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सांसद लेखकले एक दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए । कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पु¥याउन आफू तयार रहेको उनको भनाइ थियो । ‘तपाईको पीडा थाहा छ । समाधान गर्न कोसिस गर्छौं । एक दुई दिनमा मन्त्री बन्छ । त्यसपछि हामी तीनै जना सांसद तपाईहरुसहित मन्त्रीसँग बसेर कुरा गरौला,’ उनले भने । तामाङले पनि यो विषयलाई सदनमा जोडदाररुपमा उठाउने बताए ।

पीडितहरुले माओवादी सांसद माधव सापकोटासँग भेट गरेका छन् । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए ।

पीडितहरुले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका थिए । अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे ।

जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरुले माग राखेका थिए ।

पीडितहरुले शुक्रबार परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ का सांसद एनपी साउदलगायतलाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार