२ जेष्ठ २०८१, बुधबार

जानकीले कृषक पोत्साहन गर्न गहुँ खेतीमा अनुदान दिदै



जानकी (कैलाली), वैशाख १८ गते/ जानकी गाउँपालिका वडा नम्बर ५ कि विन्दु भण्डारीले गहुँवाली लगाएर २७ हजार ४१६ रुपियाँ पाउने भएपछि खुसी छिन् ।

भण्डारीले ४२ कट्टामा गहुँ लगाएकी थिइन । उनले ४२ कट्टामा छ क्वीन्टल ७१६ किलोग्राम गहुँ उत्पादन गरेको थिइन ।
भण्डारीलाई जानकी गाउँपालिकाले गहुँ लगाउने किसानलाई प्रोत्साहन गर्ने नीति अनुसार अनुदान पाउने भएकी हुन । जानकीमा यसरी अनुदान पाउनेमा १३ जना किसान रहेका छन् ।

हामीले गहुँ लगाउन अघि नै कुनै पनि सरकारी अनुदान नपाएकालाई उत्पादन भएपछि मात्र अनुदान रकम दिने सूचना जारी गरेका थियौ त्यो अनुसार ३१ जना किसानले निवेदन दिएका थिए जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भने ती मध्ये १६ जना किसानले अन्यत्रबाट अनुदान लिएको भेटिएपछि १५ जनालाई गहुँ उत्पादन हेरेपछि अनुदान दिने निर्णय भयो तर दुई जनाले हामीलाई उत्पादन नदेखाएरै गहुँ काटेपछि अनुदान नपाउने भएका छन भने १३ जना कृषकको खाता अनुदान रकम पठाइदै छौ ।

सो पालिकाका कृषि शाखा प्रमुख चौधरीले लालवीर चौधरीले कृषकले गहुँ काट्ने बेला पालिकालाई खवर गरेपछि पालिकाको विज्ञ कर्मचारी समूहले गहुँ उत्पादनको हिसाव निकालेपछि मात्र अनुदान दिने नीति लिइएको छ ।

कतिपय कार्यक्रम मल, वीउमा अनुदान दिने खालका छन् । त्यसरी पहिले अनुदान दिंदा उत्पादनमा मेहनत नगर्ने, वास्तविक किसान अनुदान माग्न नआउने, बाठाटाठाले कागज मिलाएर अनुदान लिने जस्ता अनेकौ समस्या देखिएपछि उत्पादन भएपछि मात्र अनुदान दिने नीति सो पालिकाले लिएको हो ।

पहिलो वर्ष गाउँपालिकाले अनुदान दिदैन कि भनेर धेरै किसानले अनुदानको लागि निवेदन नदिएको अनुमान गरिएको छ । तर अव १३ किसानले अनुदान पाएपछि आउदो वर्ष अनुदानको लागि धेरै निवेदन आउने विश्वास अध्यक्ष चौधरीको छ ।
केहीले धान बाली मात्र लगाउने, गहुँको बेला खेत बाँझो राख्ने र अर्कोतिर कृषि पेशाप्रतिको आकर्षण घट्दै गएको देखेपछि अनुदान दिने नीति लिइएको पालिकाका अध्यक्ष चौधरीको भनाइ छ ।

जानकी गाउँपालिका गहुँको वीउ उत्पादन गर्ने पकेट क्षेत्रसमेत भएकोले कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि कार्यक्रम र रानीजमरा कुलरिया सिंचाइ आयोजनाबाट समेत किसानहरुले विभिन्न खालका अनुदान पाउने गरेका छन् ।

जानकी गाउँपालिकाले प्रतिकट्टा ६६. ६ किलोग्राम भन्दा बढी गहुँ उत्पादन गर्नेलाई मात्र अनुदान दिने निर्णय गरेको थियो । त्यसअनुसार प्रतिकट्टा ६६.६ किलोग्राम भन्दामाथि उत्पादन गर्नेलाई अनुदान दिंदा भण्डारीलाई तीन क्वीन्टल ९१६ किलोग्राम गहुँको लागि प्रतिकिलो सात रुपियाँका दरले अनुदान दिइने भएको छ ।

किसान विन्दु भण्डारीले उत्त्पादन गरेको गहुँबाट प्रतिकट्टाको ६६.६ किलोग्रामका दरले ४२ कट्टाको दुई क्वीन्टल ७९७ किलोग्राम घटाएर तीन क्वीन्टल ९१६ किलोग्रामको अनुदान दिन थालिएको हो ।

कृषि पेशामा आकर्षित गराउनका लागि जानकी गाउँपालिकाले नयाँ नीति ल्याएको हो । सो पालिकाका अध्यक्ष गणेश चौधरीका अनुसार कृषकहरुलाई प्रोत्साहित गर्नका लागि गहुँ खेतीमा अनुदान दिन थालिएको छ । जसअनुसार कम्तिमा १० कट्टामा गहुँ लगाउनेलाई प्रतिकेजी सात रुपियाँका दरले अनुदान दिइन थालिएको हो ।

यसपटक १३ जना किसानले २५३ कट्टामा गहुँ लगाएका थिए । सो पालिकाका कृषि शाखा प्रमुख चौधरीका अनुसार १३ जना किसानलाई एक लाख ४५ हजार ३९० रुपियाँ दिइने भएको छ ।

बढी क्षेत्रफल भएको धेरै उत्पादन विन्दुको देखिए पनि कम क्षेत्रफल भए पनि कमल कठरिया, सोना चौधरी, डम्मरबहादुर रावलको खेतमा उत्पादकत्व बढी देखिएको सो गाउँपालिकाले जनाएको छ ।

कृषक सोना चौधरीले गाउँपालिकाले दिन खोजेको अनुदान वास्तविक किसानका लागि उपयुक्त रहेको बताउदै आउदो वर्ष पनि आफूहरु सो कार्यक्रममा सहभागी हुने बताइन । उनले १० कट्टामा गहुँ लगाउनु भएकोमा आठ हजार ३५३ रुयियाँ पाउने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार