२ जेष्ठ २०८१, बुधबार

देशकै समृद्ध प्रदेश बनाउछौ : मुख्यमन्त्री शाह



गोदावरी (कैलाली)/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमुना प्रदेश बनाउन हरेक पक्षसंग समन्वय, छलफल गरिरहेको बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमा सम्वन्धी प्रदेश सभा सदस्यहरुसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दे उनले सुदूरपश्चिम बनाउन सत्ता र प्रतिपक्ष नभनेर इमान्दरिताका साथ काम गर्ने प्रतिवद्धता पनि गरे ।

उनले रोजगारीको बढाउन र उद्योग धन्दा सञ्चालन गर्न ऐन, नियम कहाँ समस्या छन समाधान गर्न पनि तयार रहेको बताए ।

मुख्यमन्त्री शाहले प्रदेशको सीमित स्रोत साधनको उपयुक्त तरिकाले सदुपयोग गर्ने बताउदै स्थानीय र सङ्घ सरकारसित कसरी राम्रो समन्वय गर्ने दावी पनि गरे । उनले विगतको सरकारका पाँच वर्ष राम्रा कामको अनुशरण गर्ने र नराम्रा काम सच्चाएर जाने पनि बताए ।

उनले सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवका आयोजना छिटोछरितो ढंगले पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताउदै त्यसका लागि एकताबद्ध आवाज र पहलको आवश्यक्ता रहेको बताए ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री शाहले सङ्घीयता, गणतन्त्र, जनप्रतिनीधिलाई कमजोर बनाउने क्रियाक्लाप भइरहेको बताउदै त्यस्तो क्रियाक्लाप अन्त्य गर्न पनि प्रदेश सरकार जिम्मेवार भएर लाग्ने उल्लेख गरे ।

सो अवसरमा बोल्दै प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सङ्घीयता बलियो बनाउने गरेर प्रदेश सरकारका गतिविधि हुनुपर्ने बताउदै सुदूरपश्चिमलाई समृद्ध बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनले प्रदेशको राजधानी यही कार्यकालमा निर्माण गर्ने गरेर काम गर्न पनि प्रदेश सरकारलाई सुझाव दिए ।

यस्तैगरेर कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकारहरु विगतमा बदनाम भएको चर्चा गर्दे अव आफूहरुले विगतका गल्ती सुधार्ने, योजना मिलाउने विचौलियालाई निरुत्साहित गर्ने र सहमति, सहकार्य, सहअस्तित्वका आधारमा काम गर्ने प्रतिवद्धता गरे ।

आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले असाध्यै महत्वपूर्णरुपमा प्रदेश सभा सदस्यका भनाइ आएकोले ती विषय कार्यान्वन गर्ने गरेर लाग्ने बताए । उनले विगतमा भएका गल्तीमा ध्यान नदिएर भविश्य राम्रो काम गर्ने र भविश्यप्रति आशावादी बन्न आग्रह गरे ।

उनले सुदूरपश्चिमबाट नेपालमै सकरात्मक सन्देश दिने गरेर बजेट ल्याउने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सही ढंगले सरकारले बजेट ल्यायो काम गर्यो भने आफूहरुको सहयोग रहने बताए । उनले योजना बेच्ने विचौलियालाई निरुत्साहित गर्नु पर्ने बताए ।

हामीले विकट बाजुराको मुक्तीकोट र विछ्याका जनतालाई दीर्घकालिनरुपमा राहत पुग्ने गरेर योजना बनाउनुपर्छ रावलले भने ।
छलफलमा प्रदेश सभा सदस्यहरुले प्राथमिकताका आधारमा बजेट तथा योजना बनाउनु पर्नेमा जोड दिएका थिए । नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले भने सुदूरपश्चिम प्रदेश कृषिमा उर्वर भएकोले कृषि र जडीवुटीमा ध्यान दिएर बजेट विनियोजन गर्नु पर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओलीले भने, अघिल्लो सरकारले प्रदेशको गज बसालेको छ उसले आफ्नो काम देखाउने अवस्था छ, हामीले पनि देखिने काम गर्नुपर्छ, राजधानी निर्माणको निर्णय कार्यान्वयन गर्नुपर्छ । उनले पर्यटन सम्वन्धी काम वन र जलधारालाई दिइएको छ तर त्यहाँ जनशक्ति छैन त्यसैले पर्यटनका कामका लागि दक्ष जनशक्तिको जोहो गर्न जरुरी छ ।

प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट निर्माण बारे प्रदेश सभा सदस्यहरुसंग छलफल गरेर प्रदेश सरकारले राम्रो कामको शुरुवात गरेको बताउदै विगतका कमी÷कमजोरी र सिकाइपछि छलफल भएको भए झन राम्रो हुने थियो भन्न्े धारणा राखे ।

उनले भौतिक विकास मात्र होइन मानविय विकास र रोजगारीमा पनि ध्यान दिनु पर्ने बताउदै ८० प्रतिशत घरधुरीबाट भारत जाने अवस्थालाई रोक्ने गरेर बजेट निर्माण गर्न पनि सुझाव दिए ।

उनले काममा लागि भारत जानेलाई रोक्छौ भन्ने विगतको सरकारले को के कामका लागि भारतको कहाँ जान्छन् भन्ने तथ्यांक राख्न नसकेको बताए । उनले भने सीमा दुई जना कर्मचारी राखेर विस्तृत विवरण राख्न पनि सरकारलाई सुझाव दिए ।

कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बेलबहादुर रानाले हामीले यो काम गरेका छौ भन्ने देखाउने गरेर बजेट तथा योजना तर्जुमा गर्नु पर्ने बताए । उनले विगतमा दुई सय योजनामा २७ करोड बजेट दिइएको उदाहरण दिदै त्यस्तो तरिकाले अव बजेट विनियोजना गर्न नहुने सुझाव दिए ।

बाजुराका प्रदेश सभा सदस्य पदमबहादुर शाहीले सङ्घ र स्थानीय सरकारको चेपुवामा आफूहरु परेको बताउदै आफूहरु पनि जनताबाट निर्वाचित भएकोले बजेट वितरण गर्न पाउनु पर्ने बताए । उनले भ्रष्टाचार हुन्छ भनेर बजेट वितरण गर्न नदिनु गलत भएको बताउदै भ्रष्टाचार गर्नेलाई कारवाही गर्ने अख्तियार लगायतका निकाय भएको स्मरण गरे ।

डोटीका निर्वाचित प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले पनि अबका दिनमा विचौलियालाई हावी हुनबाट रोक्नु पर्ने बताउदै निर्वाचन क्षेत्र विकास कोषबाट समेत बजेट दिइनु पर्ने बताए ।

बाजुराका प्रदेश सभा सदस्य जुना दानीले पारदर्शीतरिकाले काम हुने गरेर बजेट तथा योजना बनाइनु पर्ने धारणा राखिन । अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मेघराज खड्काले बजेटका प्राथमिकता निर्धारण गर्नुपर्ने बताउदै आम्दानीका स्रोत बढाउनेतर्फ पनि ध्यान दिन जरुरी रहेको बताए ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयद्धारा आयोजित सो कार्यक्रममा नेपाल सरकारका सचिव उदय सापकोटा, पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, सुदूरपश्चिमका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले कानुन तर्जुमा, बजेट तथा कार्यक्रम र सुदूरपश्चिमको वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशा बारे प्रस्तुती गरेका थिए । कार्यक्रममा आर्थिक मामिला मन्त्रालयाका सचिव डा. नारायणप्रसाद रेग्मीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।

आर्थिक वर्ष २०८०/८१ बजेट तथा योजना तर्जुमा सम्वन्धी प्रदेश सभा सदस्यहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : प्रकाशविक्रम शाह

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार