१७ बैशाख २०८१, सोमबार

माओवादी फर्किने भए पहिले नै एमालेमा रहने थिएन : नेता भट्ट



२०८० वा ८१ सालमै फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुन्छ



अत्तरिया/ नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रधानमन्त्री तथा नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नासाथ माओवादी फर्किने हुँदैन भनेका छन् ।

उनले माओवादी नै हुने भए एमालेतिर उभिने थिएन भन्दै सुखी नेपाल सम्वृद्ध नेपाल बनाउने उद्धेश्यले आफू एमालेमा लागेको बताए ।

नेकपा (एमाले) मिसन ग्रासरुट कार्यक्रम अन्तरगत अत्तरियामा आयोजित कार्यक्रममा मंगलबार बोल्दै उनले भने प्रधानमन्त्री प्रचण्डलाई भेटेर मैले कुनै अपराध गरेको छैन ।

शनिबार विहान सुदूरपश्चिम विश्वविद्यालयको कार्यक्रममा भाग लिन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड , एमाले नेता भट्टलाई भेट्न उनको अत्तरियास्थित घर पुगेका थिए ।

हाम्रो चालिस वर्षदेखिको सम्वन्ध छ प्रधानमन्त्रीले म आउछु भन्नुभयो, आउनु पनि भयो एकअर्काको घरपरिवारको अवस्था बारे कुराकानी भयो नेता भट्टले कार्यकर्तालाई जानकारी भेटघाट बारे जानकारी दिदै भने ।

कार्यकर्ता पंक्तीबाट आएको लिखित प्रश्नको जवाफ दिदै नेता भट्टले शान्ति प्रक्रियालाई टुंगोमा पुगाउनका तपाईको पनि भूमिका रहनु पर्यो भनेको सुनाए । मैले मुलुकमा वामपन्थी एकताको जरुरी छ अझै पनि हाम्रा अध्यक्ष केपी शर्मा ओलीसंग भेटेर वाम एकता, शान्ति प्रक्रिया बारे कुरा गर्नुस भनेर सुझाव दिए, उनले भने ।

नेता भट्टले २०८० वा ८१ सालमै फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने दावी पनि गरे ।

उनले अध्यक्ष ओलीको प्रशंसा गर्दे उहाँ अडान लिन सक्ने र लागेको बोल्ने नेता भएको बताए । वलदेव शाह (वाकावीर) मुलुकको पहिलो शहिद भो भनेर आफूले दिएको जानकारीका आधारमा ओली बोल्नुभयो नेता भट्टले भने जवकी जनजाति नेताहरुले वाकावीर पहिलो शहिद होइन भन्छन् । वास्तमामा वाकावीर नै नेपालको पहिलो शहिद हुन पनि उनले भने ।

उनले पार्टी एकता, संगठन सृदृढीकरण, संगनात्मक अराजकता र अनुशासित पार्टी बनाउन मिसन ग्रासरुट अभियान चलाइएको पनि बताए ।

सुदूरपश्चिममा विसु पर्वको ठूलो महत्व छ, त्यसैले विसु पर्वका अवसरमा पार्टी भित्रका मनमुटाव र कमजोरीलाई सिस्नु लगाएर अन्त्य गरिने गरेर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा एक कार्यक्रम गरिने पनि उनले बताए । सुदूरपश्चिममा विसु पर्व नयाँ वर्षसंगै मनाउने चलन छ ।

सो कार्यक्रममा बोल्दै कैलालीका चार पालिकामा मिसन ग्रासरुटको नेतृत्व गरेका एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले युवा पुस्तालाई सैद्धान्तिकरुपमा प्रशिक्षित गरेर पार्टी काममा लगाउनु पर्ने बताउदै पार्टी निकट सबै भातृ संगठनमा प्रतिस्पर्धा गर्न दिनु पर्ने भावना आम कार्यकर्ताको रहको बताए ।

उनले एमाले भित्रका अराजकता र आन्तरिक समस्या ग्रासरुट अभियानपछि समाधान हुने विश्वास व्यक्त गरे । उनले कैलालीमा स्थानीय, प्रदेश र संघको चुनावमा पराजय हुनाको कारण खोज्नु पर्ने बताउदै एकअर्काप्रति सम्मान र आदरभाव कायम गर्नुपर्ने बताए ।

एमालेका प्रदेश सचिव धर्मराज पाठकले पार्टीका सबै सदस्यले अवसर पाउछन भन्ने हुँदैन तर पार्टी सरकारमा गएपछि जनताका पक्षमा काम गर्छ त्यसैले पार्टी बलियो बनाउन सबै एकजुट हुनुपर्ने धारणा राखे ।

सो पार्टीका कैलाली जिल्लाका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले ३६४ दिन एमाले हुनेर ६५ औं दिनमा अर्को पार्टीलाई भोट हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

यस्तै गरेर जिल्ला सचिव डेजी पाण्डेयले मिसन ग्रासरुट कार्यक्रमले एमाले कार्यकर्ता उत्साहित भएको बताउदै यो उत्त्साह २०८४ को चुनावसम्म कायम राख्नु पर्ने बताउदै ठाउँठाउँमा भएका उपस्थितिले ग्रासरुट अभियान सफल भएको दावी गरे ।

सो कार्यक्रममा गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकाका अगुवा कार्यकर्ताको सहभागिता थियो । सो अवसरमा चारवटै पालिकाका प्रतिनीधिहरुले ती पालिकामा एमालेको अवस्था बारे प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रम गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्णप्रसाद भट्टको उपस्थितिमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार