१७ बैशाख २०८१, सोमबार

एमालेको मिसन ग्रासरूट : भौतिक उपस्थितिमा मात्रै सदस्यता नविकरण गर्न प्रदेश इन्चार्ज भट्टको निर्देशन




टीकापुर/ नेकपा एमालेले एक महिनादेखि सञ्चालनमा रहेको मिसन ग्रासरूट कार्यक्रमको बुधबार टीकापुरमा समिक्षा गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले नौ लाख सदस्य भएको एमालेले चुनावमा बहुमत ल्याउन नसकेपछि अवस्था बुझ्न मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको बताए ।

सचिव भट्टले पार्टीका बिचार सिद्धान्त थाह नपाई पद पाउन र धन्धा चलाउन लागेको व्यक्ति एमाले हुन नसक्ने भएकाले अब भौतिक उपस्थितिमा मात्रै सदस्यता नवीकरण गराउन लागेको र नयाँ सदस्यता विधानअनुसार मात्रै गर्न लागिएको बताए ।

सरकारप्रति टिप्पणी गर्दै पूर्वमन्त्री भट्टले टाउकाको मूल्य तोक्ने र तोकाइ खाने एकै ठाउँमा धेरै दिन टीक्न नसक्ने र छिटै एमाले सरकार पक्ष हुन सक्ने पनि बताए ।

एमाले पोलिटव्यूरो सदस्य तथा कैलाली क्षेत्र नम्बर १ मा खटिएकी नेतृ निरू पालले मिसन ग्रासरुट कार्यक्रममा आधा जति जिल्ला सदस्य र प्रदेश सदस्यहरू खटाइएको ठाउँमा नदेखिएको बताउदै कार्यक्रममा नदेखिने र कागजमा सीमित पार्टी नेता आवश्यक नभएको बताए ।

प्रदेश कमिटिका सदस्य मनोज खड्काले लामो समय इमानदार भएर काम गर्दा पनि न्याय नपाएका गुनासाहरू अब व्यवस्थापन गर्दै जाने आश्वासन दिए । जनताको विश्वास भए पनि नेता परिचालन नहुँदा समस्या भैरहेको बताए । पार्टीका जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले पार्टीलाई जनताको घरघरमा पुर्याउने उद्देश्यले दुई महिने मिसन ग्रासरूट चलाइरहेको भएपनि उद्देश्य अनुसारको प्रगति हुन नसकेको बताए ।

जिल्ला सचिव डेजी पाण्डेले हरेक वडामा खटाइएका सबै जिल्ला प्रतिनिधिले राम्ररी काम नभएकोले बाँकी अवधिमा अझै खटेर काम गर्नुपर्ने, वडातहसम्म पार्टी कार्यकर्तालाई प्रशिक्षण र संगठित सदस्यता नवीकरण आवश्यक रहेको बताए ।

कार्यक्रममा टीकापुर नगर कमिटी अध्यक्ष ध्रुवराज खत्री, जोशीपुर इञ्चार्ज गणेश पाठक, एमाले भजनी अध्यक्ष खडक बुढाले आफ्ना पालिमा पार्टीले गरेका गतिविधिबारे जानकारी गराए ।

एमालेका टीकापुर नगर अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रेखा चौधरीले गरेकी थिइन भने सञ्चालन राजबहादुर बुढाले गरेका थिए ।

कार्यक्रममा सहभागी एमालेका पार्टी कार्यकर्ताहरुले स्थानीय नेताहरू जनताको बीचमा नजाने तर नेताहरूका वरिपरि परिक्रमा गरेर आफू अनुकूलका चुक्ली लगाउने गरेको गुनासो गरेका छन् । कार्यक्रममा टीकापुर जोशीपुर र भजनी नगरपालिकाका एमाले नेता कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार