२ जेष्ठ २०८१, बुधबार

प्रदेश शासनप्रति जनआस्था बढाउने गरी काम गर्छौ– मुख्यमन्त्री




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश शासनप्रति आम जनताको विश्वास र आस्था बृद्धि गर्नेगरी सरकारले काम गर्ने बताएका छन् । उनले जनप्रतिनिधिहरूले जोसजाँगर र उर्जासहित प्रदेशको विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तर्जुमाका क्रममा सोमबार प्रदेशका स्थानीय तह जनप्रतिनिधिहरुको सहभागितामा धनगढीमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्रीले जनप्रतिनिधि र सेवाप्रदायक कर्मचारीहरूले जनतामाझ राम्रो आचार र व्यवहारसहित प्रस्तुत हुन समेत आग्रह गरे ।

कार्यक्रममा उनले भने– संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन तथा प्रदेश शासनप्रति आम जनताको विश्वास बृद्धि गर्न हामी सबै जनप्रतिनिधिहरूले जोसजाँगर र उर्जाका साथ अघि बढ्नु पर्छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार, स्थानीय तह तथा कर्मचारीबीचको समन्वय र सहकार्यले नै प्रदेशको विकासको आधार निर्माण हुने बताए । भने– हामीले हाम्रो काम र व्यवहारबाट जनतामा प्रदेश शासनप्रति उत्साह र आस्था जगाउनु पर्छ । हामीले जवाफदेहीताका साथ स्रोतसाधनलाई जनताको विकासको पक्षमा प्रयोग गर्नुपर्छ ।

मुख्यमन्त्रीले पछिल्ला दिनहरूमा केही पक्षबाट संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि नै नकारात्मक टीकाटिप्पणी हुने गरेको चर्चा गरे । उनले भने– हामीले आफ्नो असल कामले यस्ता प्रवृत्तिलाई निरस्त गर्नुपर्छ ।

छलफलका क्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले जनताको आवश्यकता र चाहनाका आधारमा विकास निर्माण योजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले भने– अब कुनै दलगत राजनीतिक आस्थाका आधारमा होइन, जनताको आवश्यकता र चाहनाका आधारमा जनताले नै माग गरेका योजनालाई प्राथमिकतामा राखिने छ ।

मन्त्री देउवाले विगतमा कतिपय सन्दर्भमा स्थानीय तहहरूको सल्लाह, सुझाव र सिफारिस बिना नै प्रदेश सरकारलाई विकास निर्माण योजना र कार्यक्रम पठाइने गरेको टिप्पणी हुने गरेको चर्चा गरे । उनले भने– त्यसैले हामी (प्रदेश सरकार) ले आगामी आर्थिक वर्षको बजेट तर्जुमापूर्व स्थानीय तहहरूसँग छलफल र्ने प्रक्रिया अघि बढाएका छौ ।

कार्यक्रममा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सरकारले आर्थिक अनुशासन तथा सुशासनलाई दृढताका साथ आत्मसात गरेको बताए । उनले स्थानीय जनप्रतिनिधिहरूबाट प्राप्त सुझावलाई प्रदेशको विकासको गति बृद्धि गर्न उपयोग गरिने बताए ।

मन्त्री शाहीले विगतका वर्षहरूमा प्रदेश सरकारमाथि “आर्थिक कमिशन” को खेलमा लिप्त भएको आरोप लाग्ने गरेको चर्चा गर्दै भने– अब कृपया त्यो गीत (कमिशन) गाउन बिर्सिनुहोस् । वर्तमान सरकारले कमिशनको खेललाई समाप्त गरेर अघि बढ्छ भन्नेमा विश्वास गर्नुहोस् ।

प्रदेश सरकारका प्रमुख सचिव नारायण दुवाडीले प्रदेश लोकसेवा आयोगबाट कर्मचारी छनोटको प्रक्रिया शुरु भइसकेकोले कर्मचारी अभावको समस्या समाधान हुने बताए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्टले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्राथमिकताका आधारमा विकास निर्माण योजना सिफारिस गर्न आग्रह गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ५४ वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार