१३ बैशाख २०८१, बिहीबार

युवा संघको धनगढी नगर अध्यक्षमा नाथ सर्वसम्मत



धनगढी / राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर अध्यक्षमा अभिसेक नाथ(लोक) सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न राष्ट्रिय युवा संघको नगर अधिवेशनबाट नाथ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

उनी यसअघि युवा संघको नगर संयोजक थिए । अन्य पदाधिकारी र सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा रुद्र आग्री, सचिवमा रामबहादुर सिंह, कोषाध्यक्षमा श्रीया सिंह, उपसचिवमा संजय चापागाई र आयुश ओली चयन भएका छन् ।

अधिवेशनबाट कार्य समितिका ३७ जना सदस्य समेत सर्वसम्मत चयन गरेको छ । १० प्रतिशत सदस्यलाई भने बैठकबाट मनोनित गर्ने जनाइएको छ । पदाधिकारी तथा सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवंम् कैलाली इन्चार्ज अरुण कुँवरले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि नवनिर्वाचित कार्यसमितिलाई सम्बोधन गर्दै अध्यक्ष नाथले सबैलाई धन्यवाद दिएका छन् ।

उनले राष्ट्रिय युवा संघ पार्टीको सेना जस्तै भएको बताउदै जुनसुकै बेला पनि पार्टीको पक्षमा उभिएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘राष्ट्रिय युवा संघ भनेको पार्टीको सेना जस्तै हो । सेना भन्दैमा लडाइँ, झगडा गर्ने अर्थमा बुझ्नु हुँदैन,’ नाथले भने, ‘पार्टीलाई उपमहानगरपालिकाभित्र अप्ठ्यारो पर्दा युवा संघ जहिल्यै पनि अगाडि बढ्नेछ । सबैको साथ, सहयोग र सल्लाहअनुसार नै अघि बढ्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार