१३ बैशाख २०८१, बिहीबार

विश्व नेपाली नारी साहित्य महोत्सवको सन्देश



धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुँदै छ । धनगढीमा तीन वर्षअघि विश्व नेपाली साहित्य महोत्सवको सफल आयोजना भइसकेको छ । त्यस्तै, गत वर्ष पनि नेपाली साहित्य महोत्सव आयोजना भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशलाई प्रायः सबैले आर्थिक, सामाजिक रुपमा पछाडि परेको दुर्गम क्षेत्रका रुपमा चिन्थे । सुदूरपश्चिमलाई एक अध्याँरो प्रदेशका रुपमा लिइन्थ्यो । यहाँको भाषा, साहित्य, संस्कृति, कलालाई पनि “पिछडिएको” मानिन्थ्यो । तर, अहिले यी सबै मान्यताहरु भत्किएका छन् । सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति, कलाप्रति सम्मानभाव ह्वात्तै बढेको छ ।

सुदूरपश्चिमको मौलिक डेउडालाई राष्ट्रिय रुपमा स्थापित गर्न थुप्रै व्यक्तित्वहरुले अथक प्रयास गरेका छन् । बल्ल अहिले सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, भाषा र साहित्य राष्ट्रिय तहमा स्थापित भएको छ । र, धनगढीमा तेस्रो पटक यति ठूलो तहमा साहित्य महोत्सवको आयोजनाले साच्चै नै सुदूरपश्चिम प्रदेशलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उचाईं प्राप्त भएको छ । कुनै वेला दुर्गम मानिएको धनगढीसहित सुदूरपश्चिम प्रदेशमा हत्तपत्त आउन नचाहनेहरु पनि अहिले आउन लालायित देखिन्छन् ।

तेस्रो पटक विश्व नेपाली साहित्य महोत्सवको आयोजनाले स्पष्ट रुपमा साहित्य, कला, संस्कृति, भाषाको क्षेत्रमा ठूला आयोजना गर्न सुदूरपश्चिम प्रदेश सक्षम छ भन्ने सन्देश प्रवाह गरेको छ । किनकि कुनै वेला राजधानी काठमाडौं वा अरु ठूला शहरमा मात्रै यस्ता खालका ठूला कार्यक्रम आयोजना हुन्थे ।

तर, कही पनि अहिले सात दिनको विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थिएन । आजभन्दा साढे छ दशकअघि विश्व वौद्ध सम्मेलन भएको थियो । र, त्यसपछि तीन वर्षअघि र अहिले विश्व नेपाली साहित्य महोत्सव धनगढीमा भएको छ । यो वास्तव मै अभुतपूर्व आयोजना हो भन्नेमा विमति रहँदैन ।

विश्व नेपाली साहित्य महोत्सवपछि नेपाली साहित्य महोत्सव र अहिले विश्व नेपाली नारी साहित्य महोत्सवसम्म आइपुग्दा धनगढीसहित सिंगो सुदूरपश्चिम प्रदेशप्रति सिंगो देशको मात्रै नभएर विश्वभरीका नेपाली साहित्य सर्जकहरुको ध्यान केन्द्रीत भएको छ ।

निश्चित रुपमा अझै पनि समस्या छन् । मुख्य सवाल सुदूरपश्चिमाञ्चल साहित्य समाजले सुरु गरेको यो महोत्सवलाई प्रदेश सरकारले स्वामित्व ग्रहण गर्ने नै हो । यद्दपि प्रदेश सरकारले महोत्सवका लागि वार्षिक बजेटमा केही रकम विनियोजन गरेको छ । तर, यत्तिले मात्रै प्रदेश सरकारको दायित्व पुरा हुँदैन । सुदूरपश्चिम नेपाली भाषा, साहित्य र कलाको उद्गम स्थल हो भन्नेमा अब कुनै द्विविधा हुनुहुँदैन ।

तथ्यहरुले पनि काली–कर्णालीलाई नेपाली भाषा, साहित्यको उद्गम स्थलका रुपमा स्थापित गरिसकेको छ । त्यसैले पनि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशको भाषा, कला, संस्कृति र साहित्यको विकासका लागि ठोस कार्यक्रमसहित अगाडि आउनु जरुरी छ ।

धनगढी बौद्धिक चेतना तथा साहित्यको शहरका रुपमा स्थापित हुने क्रममा छ । यसमा प्रदेश सरकारले अभिभावकत्व ग्रहण गरेर दीर्घकालीन योजना ल्याउनु जरुरी छ । धनगढीमा आयोजना भइरहेको विश्व नेपाली नारी साहित्य महोत्सवलाई सम्पूर्ण रुपमा सफल बनाउन सबै पक्ष अग्रसर हुनु पनि उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार