६ चैत्र २०८०, मंगलवार

सामाजिक सञ्जालमार्फत ठगीको जालो




एक्सनमा प्रहरी, आठ जना पक्राउ


धनगढी/ सामाजिक सञ्जाल प्रयोग गरेर युवाहरूलाई ठग्दै आएको कैलालीको टीकापुरस्थित एक कम्पनीका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्लोबल ओरियन्स नेपाल प्रालि नामक कम्पनीले “राम्रो तलब सुविधा दिने प्रलोभन” सहित सामाजिक सञ्जाललाई माध्यम बनाएर युवाहरूबाट ठूलो रकम असुल गर्दै आएको थियो ।

सो कम्पनीले टीकापुरमा शाखा कार्यालय खोलेर एक जनाबाट १५ हजार रुपैयाँदेखि एक लाख २० हजार रुपैयाँसम्म रकम संकलन गरिरहेको थियो । सामाजिक सञ्जालमा जालो बनाएर रकम असुल गरिरहेको बारे समाचार प्रकाशित भएपछि इलाका प्रहरी कार्यालय एक्सनमा आएको छ । इलाका प्रहरी कार्यालयले आइतबार नै एक जनालाई पक्राउ गरेको थियो । भने सोमबार अरु सात जनालाई पक्राउ गरेको छ ।

टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–५ का ३३ वर्षीय लालवीर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० वर्षीय डेकेन्द्रबहादुर विक, वडा ८ का १९ वर्षीय रविन्द्र बोहरा र १८ वर्षीय भरेश शाही, दैलेख दुल्लु नगरपालिका–९ का १९ वर्षीय खगेन्द्र जैशी, दैलेख कै आठबीस नगरपालिका–१ का २५ वर्षीय जितेन्द्र विक, २३ वर्षीय दुर्गा विक र वडा ३ का २० वर्षीया वर्षा बडुवाललाई पक्राउ गरिएको छ ।

प्रहरीले ठगीको चंगुलमा फसेका व्यक्तिहरूको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
ग्लोवल ओरियन्स नेपाल प्रालि नामक कम्पनीले “जागिर दिने, आकर्षक तलब र लाभांस दिने” प्रलोभनसहित सामाजिक सञ्जालमार्फत परिचित व्यक्तिहरूलाई ठग्ने गरेको पीडितहरूको आरोप छ । टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायव उपरीक्षक) उद्धवसिंह भाटले दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, तिलुकानाका डेकेन्द्र विकलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको बताए । उनले सो कारोबारमा संलग्न अरु सात जनालाई पनि पक्राउ गरिएको जानकारी दिए ।

ग्लोबल ओरियन्स नामक कम्पनी पहिले भारतमा रहेको थियो । २०७७ साल असारमा सो कम्पनी नेपालमा समेत दर्ता भएको थियो । साजन चौधरीले टीकापुरलाई कार्यक्षेत्र बनाएर सो नेटवर्क चलाइरहेका छन् । साजनले केही समयअघि बताएअनुसार टीकापुर क्षेत्रमा करिब एक हजार जना यो कारोबारमा संलग्न रहेका छन् । उनी हाल फरार छन् । सो कम्पनीले प्रत्येक व्यक्तिलाई मासिक १८ हजारदेखि ४५ हजार रुपैयाँ तलब दिने प्रलोभन दिँदै आएको छ । पीडितहरूका अनुसार सो कम्पनीले श्रेणी विभाजन गरेर १५ हजारदेखि एक लाख २० हजार रुपैयाँ असुल गरेको छ । तर, रकम बुझेको कुनै बिल भरपाई दिएको छैन ।

प्रहरीको कारबाही सुरु भएपछि सो कम्पनीका प्रतिनिधिहरूले कार्यालय बन्द गरेका छन् । उनीहरूले एक महिना विदामा बस्ने भन्दै कार्यालय बन्द गरेको बताइन्छ । सो कम्पनीले टीकापुरमा खोलेका होस्टेलहरू पनि बन्द गरेका छन् । पीडितहरूका अनुसार सो कम्पनीका नौ वटा होस्टेलमध्ये धेरै बन्द भइसकेका छन् ।

काठमाडौं महानगरपालिका–१६ मुख्य कार्यालय रहेकोे सो कम्पनीले टीकापुरमा करोडौ रुपैयाँ संकलन गरेको बताइएको छ । कम्पनीले रकम बुझाएका व्यक्तिहरूलाई अरुलाई फोन तथा सामाजिक सञ्जालमार्फत अरुलाई “आफूले धेरै तलब पाएको तथा कम्पनीसँग भेट गराएवापत मासिक रुपमा तलव पाइने” प्रलोभन दिन लगाउने गरेको बताइन्छ ।

तर, रकम बुझाएका धेरै जनाले तीन महिनापछि करिब चार हजार रुपैयाँ मात्रै पाएपछि आफूहरू ठगिएको चाल पाएका थिए । आफ्नो मामाको भनाइमा विश्वास गरेर एउटा सहकारी संस्थाबाट एक लाख २० हजार रुपैयाँ ऋण लिएर सो कम्पनीलाई बुझाएको बताउँदै सुर्खेतकी एक युवतिले ‘रकम बुझाएको चार महिनापछि दुईचार जना अरु ल्याएपछि मात्रै काम हुने” कम्पनीका प्रतिनिधिहरूले बताए पछि आफू स्तब्ध भएको बताइन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भाटले डेकेन्द्रलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सो कम्पनीविरुद्ध टीकापुर इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भइसकेको र मुद्दा अघि बढिसकेको बताए । उनले सो कम्पनीको जिल्लाका अरु स्थानमा रहेका कार्यालयहरू पनि बन्द गराउन निर्देशन दिइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार