१ आश्विन २०८१, मंगलवार

सुदरपश्चिमका अधिकांश क्याम्पसमा एमाले अखिल विजयी



धनगढी/ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका अधिकांश क्याम्पसमा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

परिणाम सार्वजनिक भएका २२ क्याम्पसमध्ये कैलाली, बैतडी, बझाङ र दार्चुला अधिकांश क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका हुन् ।

कैलालीका नौ वटामध्ये परिणाम अनुसार पाँचवटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । कैलालीको बुलबुले बहुमुखी क्याम्पसमा पुष्पा खाती, खप्तड बहुमुखी क्याम्पसमा पुष्कर अवस्थी, चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा, लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना, ऐश्वर्य बहुमुखी क्याम्पसमा कुबेर खड्का निर्वाचित भएका हुन् ।

कञ्चनपुरको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा दीलेन्द्रप्रसाद बडू र कञ्चन बहुमुखी क्याम्पसमा देवबहादुर साउँद निर्वाचित भएका छन् भने डोटीको खप्तड आदर्श क्याम्पसमा श्याम विक निर्वाचित भएका छन् । यी तीनै जना पनि अनेरास्ववियुका हुन् ।

यस्तै बैतडीको नवप्रभात बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी रेखा घटाल, श्रीकोट बहुमुखी क्याम्पसमा शम्भुराज गिरी र सेटीगाउँ बहुमुखी क्याम्पसमा मोहन बोहरा निर्वाचित भएका छन् ।

बझाङको थलारा बहुमुखी क्याम्पसमा महेश जेठारा, सेती क्याम्पसमा लक्ष्मण गिरी र सुनकुडा क्याम्पसमा दिलीप अधिकारी निर्वाचित भएका छन् भने दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा हेमन्ती जोशी निर्वाचित भएका छन् । उनीहरू सबै अनेरास्वियुका हुन् ।

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार दुर्गाप्रसाद भट्ट निर्वाचित भएका छन् । यस्तै कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघकै कृष्णराज जोशी र महाकाली बहुमुखी क्याम्पसमा नेविसंघका निरज भण्डारी निर्वाचित भए ।

डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा नेविसंघका निर्मल बम निर्वाचित भए । अहिलेसम्म अखिल क्रान्तिकारीका उम्मेदवार प्रदेशका तीनवटा क्याम्पसमा विजयी भएका छन् । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन खत्री, कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा सरस्वती तिरुवा र जनता बहुमुखी क्याम्पसमा मनोज साउद अखिल क्रान्तिकारीबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार