६ चैत्र २०८०, मंगलवार

ग्लोवल ओरियन्सको फन्दामा युवा



टीकापुर/ काठमाडौं महानगरपालिका–१६ मुख्य कार्यालय रहेकोे ग्लोवल ओरियन्स नेपाल प्रालि नामक एक कम्पनीले टीकापुरमा करोडौ रुपैयाँ संकलन गरेको खुलेको छ ।

टीकापुरमा सम्पर्क कार्यालय खोलेर सो कम्पनीले “जागिर लगाइदिने” प्रलोभन दिएर युवाहरुबाट करोडौ रकम असुल गरेको खुलेको छ ।

सो कम्पनीले १५ हजार, ४० हजार र एक लाख बीस हजार रुपैयाँका दरले रकम संकलन गरेको पाइएको छ ।
सो कम्पनीमा रकम बुझाएका व्यक्तिले फोन तथा फेसबुकमार्फत अरुलाई “आफूले धेरै तलब पाएको तथा कम्पनीसँग भेट गराएवापत मासिक रुपमा तलव पाइने” प्रलोभन दिएको बताइन्छ ।

सो कम्पनीमा रकम बुझाएका अछामको ढकारी गाउँपालिकाका एक जनाले आफूलाई फेसवुकमा जोडिएकी एक अपरिचित महिलाले “टीकापुरमा जागिर खुलेको” भनेपछि टीकापुर आएर दुई दिनको तालिमपछि मासिक १८ हजार रुपैयाँका दरले तलव पाइने आशामा जग्गा बेचेर एक लाख बीस हजार रुपैयाँ बुझाएको बताए ।

उनले रकम बुझाएको तीन महिनापछि चार हजार दुई सय ८४ रुपैयाँ मात्रै पाएपछि आफू ठगिएको थाहा पाएको बताए ।
दैलेखका अर्का एक युवाले पनि मासिक चार हजार पाँच सय रुपैयाँ तलब पाउने लोभमा ४० हजार रुपैयाँ डुबाएका छन् । सो कम्पनीको टीकापुरमा सम्पर्क कार्यालय रहेको छ । केही स्थानमा होस्टेल पनि रहेका छन् । अहिलेसम्म करिब तीन सय जनाले आफूले रकम बुझाएर अरुलाई फकाउने काम गरिरहेको बताइन्छ ।

सो कम्पनीले रकम जम्मा गरेका व्यक्तिहरुमध्ये केहीलाई सौन्दर्य सामान दिने गरेको छ ।

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले एक जनाले इसेवाबाट ७१ हजार रुपैयाँ पठाएको देखिएकाले ग्लोबल ओरियन्सका एकजना कर्मचारीलाई पक्राउ गरिएको बताए । उनले अरुले पनि रकम बुझाएको भने पनि प्रमाण नभेटिएको बताए ।

सो कम्पनीका सिनियर डिष्ट्रिब्यूटर साजन चौधरीले एकदुई जनाले गुनासो गरे पनि टीकापुर शाखासंग जोडिएर करिब एक हजार जनाले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार