६ चैत्र २०८०, मंगलवार

आन्दोलनले बाटो विराएपछि : राष्ट्रका लागि संगीत अभियात्रा धनगढीबाट शुरु




धनगढी/ जनवादी कलाकार जीवन शर्मा पनि आउने भनेपछि धनगढी मात्र तरंगित भएन कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न बस्तीका अगुवाहरु पनि कार्यक्रम स्थल पुगे ।

धनगढीको ओम प्यालेस भएको कार्यक्रममा गायक शर्माले शनिबार दिउँसो दर्शकलाई छमछमी नचाए । शर्माले उही आफ्ना चल्तीका गीत रातो लालटीन, फकल्याण्डको टापुबाट, मधेसी, पहाडी, हिमाली हामी सबै नेपालीमा दर्शकलाई फुर्काएर सिमली छायामा जुरुक्कै उचालेका थिए । गायक शर्मालाई नेकपा (एमाले) का स्थायी समिति सदस्य मणि थापा लगायतले पनि नाँचेर साथ दिएका थिए ।

मञ्च र दर्शकका वीचवीचमा गएर उनले गाउदा दर्शक निक्कै हौसिए । लामो समयपछि उही जनवादी शैलीमा आफू पनि पुलकित भएको वामविश्लेषक डिल्लीराज जोशी (डिसर) ले बताए ।

वामपन्थीहरुले आफ्नो मुलबाटो विर्सेका बेला यस्ता जनवादी सांस्कृतिक गीतले सही बाटोमा लैजाने जोशीले विश्लेषण गरे ।

जोशीकै जस्तो भनाइ गायक शर्माको पनि छ । गायक शर्माले गीत गाउन मञ्चमा उक्लदै गर्दा भनेका थिए जव आन्दोलनले बाटो बिराउछ अनि जनवादी गीत संगित चाहिन्छ त्यसले वाम एकताका लागि मद्धत पुग्ने विश्वास पनि उनको थियो । आन्दोलनले् बाटो विराएका बेला… रातो लालटिन… गीत गाउनुपर्छ उनको भनाइ थियो ।

बाम एकताका लागि धनगढीबाट शुरु गरिएको राष्ट्रका लागि संगीत अभियात्रा देशका विभिन्न शहरमा पुगाउने बताइएको छ । सो यात्रामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल) सहितका प्राय सबै वामपन्थी दलसंग निकट २२ कलाकारको सहभागिता छ ।

सो टोलीमा रहेका कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुती दिएका थिए ।

शहिदको सपना सम्झाउने, आर्थिक, सामाजिक, राजनीति अवस्था सुधार्ने अस्थिरताको अन्त्य गर्ने उद्धेश्यले समेत संगीत अभियात्रा आयोजना गरिएको जनाइएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संगीत अभियात्राले विचार विहिनताको अन्त्य, राष्ट्रियताको जागरण र विभाजित वामपन्थीहरुलाई एकताबद्ध बनाउन दवाव दिने विश्वास व्यक्त गरे ।

सो कार्यक्रम चैत ७ गते सुर्खेत, चैत १० गते दाङ, चैत १३ गते बुटवल, चैत १६ गते भरतपुर, चैत १८ गते हेटौडा, चैत २० गते वर्दिवास, चैत २२ गते धरान, चैत २५ गते विर्तामोड, चैत २८ गते पोखरा र वैशाख ५ गते काठमाडौ पुगेर सम्पन्न हुने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डवल शाहले बताए ।

काठमाडौको अन्तिम कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनमोर्चा नेपालका चित्रबहादुर केसी , मोहन बैध किरण लगायतका नेताहरुको सहभागिता हुने नेता शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार