१३ बैशाख २०८१, बिहीबार

प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका पाँच जनालाई पुरस्कार दिने




धनगढी/ नेपाली राष्ट्रिय टोलीमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने पाँच जना खोलाडीलाई प्रदेश सरकारले पुरस्कृत गर्ने भएको छ । भरखरै समापन भएको आइसीसी लिग टुमा तेस्रो स्थानसहित एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायरमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा, अर्जुन साउँद र कमलसिंह ऐरीलाई पुरस्कृत गरिने छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार दीपेन्द्रसिंह र भीमलाई जनही दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै, सन्दीप जोरालाई एक लाख रुपैयाँ तथा अतिरिक्त खेलाडीका रुपमा टिममा रहेका अर्जुन र कमलसिंहलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

आइसीसी लिग टुमा पछिल्ला १२ खेलमध्ये ११ मा नेपाल विजयी भएको थियो । यिनै जीतसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायरमा स्थान बनाएको छ । प्रत्येक खेलमा दीपेन्द्रसिंह ऐरीले ब्याट र बल दुवैमा उल्लेख्य खेल प्रदर्शन गरेका थिए ।

त्यस्तै, भीमले ब्याटिङमा आकर्षक प्रदर्शन गरेका थिए । खासगरी यूएईमा भएको खेलमा यूएईविरुद्ध ७० रन तथा कीर्तिपुरमा आइसीसी लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध नै ६७ रन उल्लेख्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार