४ बैशाख २०८१, मंगलवार

पौडेल राष्ट्रपतिमा दोब्बर बढी मतले निर्वाचित



काठमाडौं/ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेलले अर्का उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै तेस्रो राष्ट्रपति बने ।

पौडेलले कुल ३३ हजार ८ सय दुई मतभार प्राप्त गरे । उनले संघतर्फ १६ हजार ९ सय ६ मतभार प्राप्त गरे भने प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार पाए । उनलाई दुई सय १४ संघीय सांसद तथा तीन सय ५२ प्रदेश सांसदले मत दिएका थिए । राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ निर्धारित गरिएको छ ।

राष्ट्रपति पदका पराजित उम्मेदवार एमालेका नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । उनको पक्षमा संघतर्फ ७ हजार ७ सय ४२ र प्रदेशतर्फ ७ हजार ७ सय ७६ मतभार प्राप्त भएको थियो । उनलाई ९८ जना संघीय सांसद र एक सय ६२ जना प्रदेश सांसदको समर्थन प्राप्त भएको थियो ।

पौडेललाई काँंग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

नेपाली काँग्रेसका शालीन, वौद्धिक तथा इमान्दार नेताको छवि बनाएका ७८ वर्षीय पौडेल ६ दशकदेखि सक्रिय राजनीतिमा संलग्न रहेका छन् ।

२००१ सालमा जन्मिएका पौडेल ०१७ सालदेखि राजनीतिमा होमिएका हुन् । उनी गत मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । नेपाली काँग्रेसको कार्यबाहक सभापति, उपसभापति, महामन्त्री समेतको जिम्मेवारी बहन गरिसकेका पौडेलले विगतमा प्रधानमन्त्री पदको निर्वाचन समेत लडेका थिए ।

१७ पटकसम्म भएको निर्वाचनमा भाग लिए पनि उनी निर्वाचित हुनसकेनन् । त्यस्तै, काँग्रेस सभापति पदको निर्वाचन लडे पनि उनी सफल हुनसकेनन् ।

गत निर्वाचनअघि काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन निर्वाचनपछि टुटेको थियो । काँग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले नेतृत्वको गठबन्धनमा समाहित भएर प्रधानमन्त्री बनेका थिए ।

तर, राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले “यु टर्न” लिएपछि पौडेललाई राष्ट्रपति यात्राको साइत जुरेको थियो ।
गत फागुन १२ गते कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका थिए । अरु सात दलले समर्थन गर्ने भएपछि काँग्रेसले फागुन १३ गते सर्वसम्मत रूपमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

निकै संघर्षपूर्ण राजनीतिक जीवन विताएका पौडेल तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि केही समय कांग्रेस कार्यवाहक सभापति भएका थिए । उनको नेतृत्वमा काँग्रेसको १३ औं महाधिवेशन भएको थियो । सो महाधिवेशनमा उनी सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

काँग्रेसको १४ औ महाधिवेशनमा पनि उनी सभापति पदका आकांक्षी थिए । तर, उनको खेमाबाट उनी सर्वसम्मत उम्मेदवार बन्न सकेननु । शेखर कोइराला सभापतिका उम्मेदवार भएका थिए । उनी मौन बसे । १४ औं महाधिवेशनपछि उनी राजनीतिक रुपमा निस्क्रिय बन्छन् भन्ने चर्चा चलेको थियो ।

०१६ सालमा पोखरामा हिमालयन छात्र संघको स्थापनाताका उनी सो संस्थामा आवद्ध भएका थिए ।

२०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद भंग गरेर तत्कालीन प्रधानमन्त्री बिपी कोइराला लगायतका काँग्रेसका शीर्ष नेताहरूलाई बन्दी बनाए । पौडेल राजाको यो कदमविरूद्ध आन्दोलनमा होमिएका थिए ।

२०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना भयो । पौडेल नेविसंघ संस्थापक सदस्य बने । उनी पक्राउ परे र तीन महिना हिरासतमा राखिए ।

नेपाली साहित्यमा स्नातकोत्तर तथा संस्कृतमा शास्त्री तह उत्तीर्ण उनले राजनीतिक संघर्षका क्रममा पटक पटक जेलनेलको सजाय भोगेका छन् ।

२०४८ सालदेखि तनहुबाट पटकपटक प्रतिनिधि सभा सदस्य निर्वाचित उनले सभामुख, उपप्रधान तथा गृहमन्त्री, कृषिमन्त्री, शान्ति तथा पुनस्र्थापनामन्त्री लगायतको जिम्मेवारी बहन गरिसकेका छन् ।

काँग्रेसभित्र अध्ययनशील नेताका रुपमा समेत चिनिएका उनले नेपाली कांग्रेसको संक्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, कृषि क्रान्ति र समाजवाद नामका पुस्तक लेखेका छन् ।

त्यस्तै, उनका राजनीतिको राजमार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास नामक समेत प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार