गाउँपालिका भवनका लागि जग्गादान
धनगढी/ कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । मोहन्यालका सात जनाले प्रशासकीय भवन निर्माणका लागि झण्डै एक करोड रुपैयाँ मुल्यको जग्गा दान गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पालिकाको वडा नम्बर १ स्थित चोसेकाँडामा प्रशासकीय भवन निर्माणको लागि प्रस्ताव पारित भएको थियो ।
प्रशासकीय भवन निर्माणका लागि मोहन्यालका कमलबहादुर बुढामगर, टेकबहादुर बम, भीमबहादुर बम, चक्रबहादुर बम, कमलसिंह बम, गजबहादुर शाही र डम्मरबहादुर बमले जग्गा दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले दुई दुई रोपनीका दरले जग्गादान गर्ने घोषणा गरेका थिए ।