७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल



धनगढी/ सरकारले कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि भावी कार्यदिशाबारे नागरिक स्तरमा छलफल सुरु भएको छ । सरकारले केही दिनअघि गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

सोमबार धनगढीमा निर्वतमान प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टको उपस्थितिमा स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे भावी कार्यदिशा र हाम्रो दायित्व विषयमा छलफल कार्यक्रम भएको छ ।

कार्यक्रममा निवर्तमान प्रतिनिधि सभा सदस्य डा. भट्टले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक ऐनकानु निर्माणका लागि सरकारमाथि निरन्तर दवाव दिनुपर्ने बताए । उनले शिक्षा मन्त्रालयमातहतका पुराना अस्पताल र नयाँ अस्पताललाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत ल्याउन पहल गर्नुपर्ने बताए ।

छलफल कार्यक्रमका सहभागीहरुले गेटा मेडिकल कलेजका अधिकांश भौतिक संरचना बनिसक्दा पनि कुन मोडेलमा सञ्चालन गर्ने भन्नेबारे लामो समय अन्योल रहेकोमा सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेर अन्योल हटेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १ गते गेटा मेडिकल कलेजको स्थलगत भ्रमण गरेका थिए । स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिनिधि सभाबाट आवश्यक ऐन बनिसकेको छैन । स्थलगत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको काम द्रुत गतिमा अघि बढाइने बताएका थिए ।

सो विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि अहिलेसम्म पाँच अर्व ४१ करोड रुपैयाँ खर्च भइसककेो छ । गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार सो विश्वविद्यालयको भौतिक तथा अन्य कार्यमा अझ दुई अर्ब ५० करोड रुपैयाँ बढी खर्च लाग्ने अनुमान रहेको छ ।

मुलुकका अरु सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा रहेको भए पनि अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार