१३ बैशाख २०८१, बिहीबार

समृद्ध डडेल्धुराका लागि सबैको सहयोग र ऐक्यवद्धता आवश्यक– नेतृ आरजू



डडेल्धुरा महोत्सव सुरु




डडेल्धुरा/ डडेल्ध्रामा बिहीबारदेखि पाँचौ डडेल्धुरा महोत्सव सुरु भएको छ । महोत्सवको एक भव्य कार्यक्रमबीच सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले उद्घाटन गरिन् ।

सो अवसरमा नेतृ डा. आरजूले सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधिको आधार साना, घरेलु तथा कुटिर उद्योग र कृषिजन्य उत्पादन रहेकोले मेलाले प्रदेशको अर्थतन्त्रलाई थप बलियो र चलायमान बनाउन तथा उत्पादनको प्रवद्र्धन र बजारीकरणमा टेवा पुराउने विश्वास व्यक्त गरिन् ।

उनले डडेल्धुरामा कृषि तथा वन पैदावारमा आधारित उद्योग, साना लगानीका व्यवसाय र पर्यटनको निकै सम्भावना रहेको चर्चा गरिन् । उनले भनिन्– समृद्व डडेलधुरा निर्माणका लागि सबैको सहयोग र ऐक्यवद्धता आवश्यक छ ।

नेतृ डा. आरजूले पश्चिम सेती परियोजनाको सम्झौता भएर कार्यान्वयन प्रक्रियामा रहेको चर्चा गर्दै यो आयोजनाले रोजगारीको सिर्जना र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताइन् ।

उनले डडेल्धुरा मेडिकल कलेज सञ्चालन र सदरमुकामको सडक विस्तार प्रक्रिया अघि बढेको बताइन् । उनले डडेल्धुरा–काठमाडौं हवाइ सेवा सञ्चालन गर्न विमानस्थल निर्माण गरिने बताइन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले डडेल्धुरा तथा समग्र प्रदेशको विकासका लागि सरकार गम्भीर रहेको बताए ।

महोत्सव उद्घाटन समारोहमा डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले डडेल्धुरा मेडिकल कलेज, विमानस्थल, सडक विस्तार, बसपार्क, सिटिहल लगायतका योजना सिघ्र अगाडि बढाउन आग्रह गरे ।

सो अवसरमा संविधानसभा सदस्य ज्ञानु गैरे, प्रदेश सभा सदस्य डा. तारा जोशी र सरस्वती खड्का, अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

डडेल्धुरा उद्योग बाणिज्य संघको आयोजना सञ्चालित सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौ डडेल्धुरा महोत्सव आगामी १४ गतेसम्म चल्ने छ ।

संघका बरिष्ठ उपाध्यक्ष दीपक महताका अनुसार महोत्सवमा एक सय ५० स्टल रहेका छन् । महोत्सवमा स्थानीय कला, संस्कृति तथा पुरातात्विक स्थलको प्रदर्शनी राखिएको छ ।

महोत्सव सञ्चालनमा ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । करिब डेढ लाख दर्शकले अवलोकन गर्ने तथा महोत्सव अवधिमा पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार