८ बैशाख २०८१, शनिबार

कैलाली–२ का प्रतिनिधि सभा सदस्य चौधरी कारागार चलान




धनगढी / १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली–२ का प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरिएको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए ।

उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख ७५ हजार रुपियाँ जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो ।

फैसला भएको करिव एक दशकसम्म पनि आरोपीतहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो । नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ ।

प्रतिनिधि सभा सदस्य चौधरी पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।

तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुन अनुसार नै उनलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार