१६ चैत्र २०८०, शुक्रबार

गोदावरीमा प्रदेश राजधानी बनाउन प्रतिनिधि सभा सदस्य बलायरको माग



धनगढी/ कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले गोदावरीबाट सुदूरपश्चिमको राजधानी अन्यत्र सार्न सकिने परिस्थिति नरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुदूरपश्चिमको राजधानी निर्माण गर्न केन्द्र सरकारको ध्यानाकर्षण पनि गराए।

उनले भने अरू प्रदेशका राजधानी व्यवस्थित सहरमा भएका छन्। २०७५ मै सुदूरपश्चिमको राजधानी जंगल भएको ठाउँमा घोषणा भएको छ। अहिलेसम्म कुनै पूर्वाधार बनेको छैन। केन्द्र सरकारले त्यसलाई भोगाधिकार दिएको छैन। त्यहाँबाट राजधानी सार्न सकिने परिस्थिति छैन ।

उनले अहिलसेम्म सिमांकन र डिपिआर किन हुन नसकेकोमा दुःख व्यक्त गरे । बलायरले किन केन्द्रीय सरकारबाट भोगाधिकार रोकियो भन्ने प्रश्न पनि गरेका छन्।

प्रदेशको सामर्थ्यले राजधानी बनाउन सक्ने अवस्था नरहेको भन्दै केन्द्र सरकारले बनाइदिनुपर्ने उनको भनाइ थियो।

यस्तै उनले धनगढीमा रहेको गेटा मेडिकल कलेजमा घाँस उमार्नको लागि मात्रै बनाएको हो भन्दै प्रश्न गरेका छन्।

उनले अर्बौं‌को लगानीमा बनेको मेडिकल सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

गेटामा ठूलाठूला भवनहरू बनेका छन्। तर घाँस उम्रेको छ, राज्यको त्यत्रो सम्पती खर्च गरेर घाँस उमार्नका लागि मेडिकल कलेज बनाइएको हो र ? उनले प्रश्न गरे।

उनले कार्यविधि तयार पारेर मेडिकल कलेज चाँडै सञ्चालन गर्नुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार