२४ बैशाख २०८१, सोमबार

दुई हजारबढी बालबालिकालाई शैक्षिक सामग्री वितरण



धनगढी

धनगढी उपमहानगरपालिकाका विभिन्न ८ वडामा रहेका ८ वटा विद्यालयका दुई हजार दुई सय बढी बालबालिकालाई बिहीबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) को सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रका ८ वटा विद्यालयमा ईसिडीदेखि कक्षा ८ सम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरियो ।

रुडुकका अनुसार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ का ८ वटा विद्यालयका बालबालिकालाई सामग्री वितरण गरिएको हो । बिहीबार विद्यालयहरुमा आयोजित कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बालबालिकालाई सामग्री हस्तानतरण गरे । कार्यक्रममा रुडुकका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

रुडुकका अनुसार धनगढी वडा नम्बर १ को शान्तिटोलस्थित सरस्वती आधारभूत विद्यालयका तीन सय १८ जना विद्यार्थी, वडा २ को शारदा माविका पाँच सय २८, वडा ३ को जनता आधारभूत विद्यालयका तीन सय, र वडा नम्बर ४ को राष्ट्रिय तुलसीराम विद्यालयका दुई सय ३५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

त्यस्तै, वडा नम्बर ५ स्थित राष्ट्रिय आधारभूत विद्यालयका एक सय ३६, वडा ६ स्थित भैरवबाबा आधारभूत विद्यालयका एक सय ४९, वडा ११ स्थित ठेकराज माविका तीन सय ६७ र वडा नम्बर १३ का जनता राष्ट्रिय माविका एक सय ७७ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सो अवसरमा प्रदेश सभा सदस्य देउवाले मुलुकका कर्णधार बालबालिकाको उज्जवल भविष्यका लागि राज्यले शिक्षामा लगानी बढाउनु पर्ने बताए । उनले मु्लुकको विकासको प्रमुख आधार नै शिक्षा भएको चर्चा गर्दै तीनै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।


प्रदेश सभा सदस्य देउवाले भने– बालबालिकाहरूको उज्ज्वल भविष्यलाई ध्यानमा राखेर राज्यले शिक्षा क्षेत्रमा लगागी बढाउनु जरुरी छ । शिक्षा क्षेत्रको लगानीले नै मुलुकका लागि दक्ष, सक्षम र असल नागरिक उत्पादन गर्छ भन्नेमा सधैं ध्यान दिनु आवश्यक छ ।

रुडुकको पाण्डाप्याक परियोजनाअन्तर्गत स्कूले बालबालिकाहरूलाई स्कुल झोला, स्टेशनरी र स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार