मुख्यमन्त्रीलाई बालअधिकार सम्बन्धी ज्ञापनपत्र
धनगढी/ बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बिहीबार बालअधिकार प्रवद्र्धनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई ज्ञापनपत्र बुझाएको छ ।
सिजपले ज्ञापनपत्रमार्फत प्रदेश सरकारसामु सुदूरपश्चिम प्रदेशका बालबालिकासम्बन्धी प्रादेशिक ऐन, २०७७ को नियमावली जारी गर्न, सन् २०३० सम्म प्रदेशमा बालविवाह अन्त्यका लागि प्रादेशिक रणनीति बनाउन लगायतका माग प्रस्तुत गरेको छ ।
सो अवसरमा मुख्यमन्त्री रावलले प्रदेश सरकार बाल अधिकार प्रवद्र्धनका लागि गम्भीर र संवेदनशील रहेको बताए ।
मुख्यमन्त्रीले सरकारले प्रदेशका बालबालिकाको अवस्थाबारे तथ्यांक संकलन गर्ने, सूचनाको विश्लेषण गर्ने र आवश्यक नीतिनियम बनाउन पहल गर्ने बताए । उनले बाल अधिकार बलियो बनाउन गैरसरकारी क्षेत्रसंग ज्ञान, सीप, प्रविधिमा सहकार्य गरिने बताए ।
उनले बालविवाह, लागू पदार्थ दुव्र्यशन लगातका कुलतबाट बालबालिकालाई मुक्त गर्न सरकारले विशेष प्रयास गर्ने बताए ।
यसअघि सिजपले बिहीबार नै धनगढीमा आयोजना गरेको प्रादेशिक छलफलमा बालबालिकाहरूका सवालमा स्थानीय तहहरू गम्भीर नरहेको सरोकारवालाहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा संयुक्त राष्ट्र बाल अधिकारसम्बन्धी महासन्धि छैठौं र सातौं आवधिक प्रतिवेदनको मस्यौदामाथि पनि छलफल भएको थियो ।
कार्यक्रममा फाया नेपालका कार्यक्रम संयोजक सच्चिदानन्द जोशीले स्थानीय तहहरू बालबालिकाका सवालमा जिम्मेवार नदेखिएको बताए । उनले नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले बालश्रममुक्त पालिका घोषणाको लागि पालिकाहरूमा अनुदान प्रदान गर्न प्रस्तावना आह्वान गरे पनि पालिकाहरूले चासो नदेखाएको बताए ।
धनगढी उपमहानगर बाल सञ्जालका अध्यक्ष लक्ष्मी जोशीले धेरै वटा स्थानीय तहमा बाल क्लव गठन तथा सञ्जाल विस्तार समेत नभएको बताइन् ।
उनले पछिल्लो समय बालबालिकाहरूमा मानसिक समस्या बढेको बताउँदै बालबालिकाहरूमा समेत आत्महत्या, लागुऔषध दुव्र्यसनी लगायतका समस्या बृद्धि हुँदै गएको चर्चा गरिन् ।
कार्यक्रममा स्थानीय तह तथा प्रदेश सरकारले बाल नीति तयार गरे पनि कार्यान्वयनमा समस्या रहेको, बालश्रमको अवस्था बढ्दै गएको, बालविवाह, लागूऔषध दुव्र्यसनी, सामाजिक सञ्जालको दुरुपयोग, बीचैमा पढाई छोड्ने लगायतका समस्या बढेको चर्चा भएको थियो ।
कार्यक्रममा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले बालबालिकाको समग्र अवस्थाको बारेमा प्रस्तुति गरेका थिए ।