८ पुष २०८१, सोमबार

प्रदेशको समग्र विकासको साझा थलो– मुख्यमन्त्री रावल



धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभा साझा थलो रहेको बताएका छन् ।

प्रदेश सभा दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभा सत्तापक्ष तथा प्रतिपक्षको साझा थलोका रुपमा रहेको चर्चा गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री रावलले “प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशको स्थापना अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अमूल्य योगदान दिने सबैमा सम्मान” व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्– प्रदेशका जनताको सर्वोच्च निकाय प्रदेश सभाले नीतिगत रुपमा प्रदेशमा आवश्यक कानुनको तर्जुमा गरी कानुनी प्रदेशको रुपमा स्थापित गरेको छ । प्रदेश सभाले प्रदेशमा सुशासनको प्रत्याभूति गराउने, सरकारलाई आवश्यक निर्देशन दिने, जनताका इच्छा आकांक्षालाई पूरा गर्न सरकारसंग आवश्यक समन्वय गर्ने लगायतको कार्य गर्दै आएको छ ।

‘पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भए पनि सुदूरपश्चिम प्रदेशको दिगो एवं सर्वांगिण विकासका विषयमा सम्पूर्ण नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरू एकजुट भइ हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको छ’ शुभकामना सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री रावलले न्यूनतम साझा कार्यक्रमहरूको निर्माण गरी प्रदेशमा औद्योगिकीरण, रोजगारीका अवसरको सृजना, विकास निर्माण, सुशासनको अनुभूति, स्वाबलम्बन तथा आत्मनिर्भर प्रदेश स्थापनाका लागि प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्– ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताको व्यवस्था लगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सम्पूर्ण प्राथमिक विषयहरूमा प्रतिपक्ष दलहरूलाई समेत साथमा लिइ सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रुपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

उनले प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले यस अभियानमा सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार