२८ पुष २०८१, आईतवार

उत्पादनमूलक उद्यमलाई प्रोत्साहन गर्नुपर्छ : पाठक



धनगढी/ नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेश समितिले शनिवार धनगढीमा एसोसिएसनको २४औँ स्थापना दिवस मनाएको छ । 

स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्म राज पाठकले केक काटेर शुभारम्भ गरेका थिए ।

सो अवसरमा पाठकले डेरी उद्योगहरूले रोजगारीको सिर्जना गरेको बताए । उनले कुनै पनि उत्पादनमूलक उद्यमले रोजगारी सिर्जना गर्ने र स्वदेशी उत्पादन बढ्दा आयात समेत प्रतिस्थापन हुने भएकोले राज्यले उत्पादनमूलक उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य पाठकले कृषि तथा पशुपालनमा लगानी गरेका किसानहरूलाई प्रोत्साहन गर्न प्रदेश सभा सदस्यका रूपमा कानुन बनाउने र नियमन गर्ने बिष्मयमा आफूले पहल गर्ने बताए । 

कार्यक्रममा छलफलका क्रममा किसानहरूले राखेका समस्या माथि बोल्दै पाठकले विगतमा अनुदान सही ठाउँमा र उद्यम गर्नेले नपाएको गुनासो रहेकोले आउँदा दिनमा वास्तविक किसानलाई मात्रै अनुदान लगायतका कार्यक्रममा समेट्ने गरी कार्यक्रम बनाउने कुरामा आफूले सकारात्मक पहल गर्ने बताए ।

कार्यक्रममा डेरी एसोसिएसनका सल्लाहकार भूपेन्द्र थापाले सुदूरपश्चिम प्रदेशमा दूधको उत्पादन राम्रो रहेकोले हिउँदे समयमा बढी भएको दूधलाई पछि सम्म काम लाग्ने बनाउन पाउडर बनाउने प्लान्ट जडान गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए । 

एसोसिएसनका प्रदेश अध्यक्ष रविनकान्त पन्तले प्रदेश सरकारले थोरै मात्र सहयोगी भूमिका निर्वाह गरिदिए डेरी व्यवसायमा थप लगानी आउने सम्भावना रहेको बताए ।

डेरी एसोसिएसनका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष ललित हमालले सरकारले प्रदेश सरकारले ऐन बनाएर समेत दुग्ध विकास बोर्ड गठन नगरेकोले बोर्ड गठन गरी किसान र व्यवसायीका समस्या समाधान गर्ने तर्फ पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार