२ माघ २०८१, बुधबार

योगदानमा आधारित सुरक्षाबारे कार्यशाला




धनगढी/ श्रमिकहरूको सामाजिक संरक्षण तथा योगदानमा आधारित सुरक्षाबारे शनिबार धनगढीमा कार्यशाला भएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको कार्यशालामा ट्रेड युनियन काँग्रेसका प्रदेशका सबै जिल्ला अध्यक्ष, प्रदेश पदाधिकारीहरू तथा शुभेच्छुक संगठनका प्रमुखहरू समेत ६७ जनाको सहभागिता रहेको थियो ।

ट्रेड युनियन काँग्रेसले २०५४ सालदेखि श्रमिकहरूका लागि सामाजिक सुरक्षाको सवाल उठाउँदै आएकोमा गैरसरकारी विधेयकका रुपमा २०७४ सालमा कानुन पारित भएको थियो ।

कार्यशालाको उद्घाटन गर्दै नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कोही कसैले पनि व्यक्तिलाई केन्द्रमा राखेर संस्थाको सदस्यता दिने प्रवृत्तिले संगठनको हित नहुने बताए । उनले भने– कसैलाई कुनै पदमा जिताउन अथवा हराउनका लागि सदस्यता दिने प्रवृत्तिले संस्थाको भलो हुनै सक्दैन । हामी कुरा मात्रै राम्रो गर्छौ, तर योग्य व्यक्तिलाई नेतृत्वमा पुर्याउन कन्जुस्याई गर्छौ ।

कार्यशालामा ट्रेड युनियनको भूमिका, श्रमिकहरूको अवस्था तथा सामाजिक सुरक्षाबारे गहन छलफल भएको थियो । “यो (योगदानमा आधारित सामाजिक सुरक्षा) ट्रेड युनियन काँग्रेसको पहलमा तथा नेपाली काँग्रेस नेतृत्वको सरकारले ल्याएको नीति र ऐन हो” कार्यक्रममा ट्रेड युनियन काँग्रेसका राष्ट्रिय महासचिव योगेन्द्रबहादुर कुँवरले भने– यो श्रमिकहरूलाई लक्षित गरेर बनाइएको निकै महत्वपूर्ण कानुनी प्रबन्ध हो ।

महासचिव कुँवरले असंगठित मजदूरहरूलाई ट्रेड युनियनमा आवद्ध गर्ने चुनौति रहेको बताए । उनले सरकारले अहिलेसम्म सामाजिक सुरक्षा कार्यक्रमका लागि कुनै योगदान नगरेको आरोप लगाए । महासचिव कुँवरले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको सवाललाई ट्रेड युनियन काँग्रेसले प्राथमिकतामा राखेर काम गरिरहेको चर्चा गरे ।

कार्यक्रमको दोस्रो सत्रको प्रमुख आतिथ्य ग्रहण गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थीले नेपालको लोकतान्त्रिक तथा मजदूर आन्दोलनमा ट्रेड युनियन काँग्रेसको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।

कार्यशालामा ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेशका अध्यक्ष सिद्धराज भट्टले प्रदेशका सबै पालिकामा संगठन विस्तार कार्य जारी रहेको बताए । उनले भने– सुदूरपश्चिम प्रदेशका सबै पालिका तहमा समेत ट्रेड युनियन आन्दोलन विस्तार भइसकेको छ ।

कार्यशालामा ट्रेड युनियन काँग्रेसका राष्ट्रिय उपमहासचिव सीताराम अवस्थी, कोषाध्यक्ष मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशी, केन्द्रीय सदस्यहरू देवदत्त वडू, भजन जैशी, नरबहादुर धामी, काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रामबहादुर देउवा, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वार, विद्युतीय रिक्सा मजदूर संघका अध्यक्ष मीनराज जोशी, ब्युटिसियन संघका अध्यक्ष सुशीला टमटा, नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष प्रेमबहादुर सिंह, ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्षहरू सुशील भट्ट, बसन्तकुमार बिष्ट, रामप्रसाद आचार्य, मथुराराज पण्डित, टेकराज पाण्डेय, ज्ञानेन्द्र शाही, श्रम तथा रोजगार कार्यालय कैलालीका प्रमुख भरतबहादुर शाही लगायतले सामाजिक सुरक्षाको अवस्था, संस्थाको गतिविधि आदि विषयमा चर्चा गरेका थिए ।

ट्रेड युनियन काँग्रेस, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शान्ति सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश महासचिव गणेश मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार