नागरिक उन्मुक्ती खुल्यो, सुदूरपश्चिमले मंगलबार सभामुख पाउने
उन्मुक्ती सरकारमा पनि नजाने उपसभामुख पनि नलिने
धनगढी/ सुदूरपश्चिम प्रदेशले मंगलबार सभामुख पाउने भएको छ । नागरिक उन्मुक्ती पार्टीले सत्ता पक्षका उम्मेदवार भीमबहादुर भण्डारीलाई मत दिने भएपछि सुदूरपश्चिम प्रदेशले सभामुख पाउने भएका हो । उन्मुक्ती गठवन्धनमै बस्ने भए पनि सरकारमा भने सामेल नहुने भएको छ ।
सो पार्टीका नेता लक्ष्मण चौधरीले गठवन्धन नछोड्ने तर सरकारमा नजाने र उपसभामुख पद पनि नलिने बताए । नेता चौधरीले उसभामुख कसलाई बनाउनु हुन्छ निर्णय गर्नुस भनेर नेकपा (एमाले ) र नेकपा (माओवादी केन्द्र) लाई भनि सकेको बताए ।
नागरिक उन्मुक्ती तटस्थ बसकोले सत्ता पक्षका माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी दुई पटक चुनाव हुँदा पनि ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ मत नपाएर चुनिन सकेका छैनन् । उनले पुस २८ गतेको पहिलो चुनावमा २६ र पुस ३० गतेको दोस्रो चुनावमा २२ मत पाएका थिए । सत्ता पक्षसंग माओवादीका ११, एमालेका १०, उन्मुक्तीका सात र राप्रपाका एक गरेर २९ मत छन् ।
यस्तै गरेर विपक्षी गठवन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलले पहिलो चुनावमा २३ र दोस्रोमा २२ मत पाएका थिए । उनले पहिलो चुनावमा नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको मत पाएका थिए । भने सभामुखको भूमिकामा रहेका शिवराज भट्टले भने मतदान गरेनन् । पछिल्लो चुनावमा पनि भट्टले मतदान गरेनन भने कांग्रेसकै सरस्वती खड्का अनुपस्थित भइन । सभामुखले निर्णायक अवस्थामा मात्र भोट हाल्नु पर्ने हुन्छ ।