बहुमत हुँदाहुदै पनि सभामुखमा छानिन सकेनन् भण्डारी
धनगढी/ आवश्यक संख्या भन्दा दुई मत बढी हुँदा पनि नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी विहिबार सभामुख हुन पाएनन् ।
५३ सदस्यीय प्रदेश सभामुख निर्वाचित हुन ५१ प्रतिशत अर्थात २७ मत पाउनु पर्ने हुन्छ । जवकी भण्डारीकै दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ती र राप्रपाको समर्थन रहेको थियो । उल्लेखित दलका मत संख्या २९ छ ।
तर भण्डारीको पक्षमा परेको एक मत बदर भएपछि उनी सभामुख हुन सकेनन् । भण्डारीका पक्षमा रहेका डोटीका एमालेका प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल समयमै प्रदेश सभामा पुग्न नसक्दा मतदानबाट बञ्चित भए । भने नागरिक उन्मुक्तीका लक्ष्मणकिशोर चौधरी मतदान गर्न नै गएनन् ।
भण्डारीसंग चुनाव लडेका नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार मानबहादुर रावलले २३ मत पाए । उनलाई नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक जनाले मत दिएका थिए । कांग्रसकै शिवराज भट्ट सभामुखको भूमिकामा भएकोले मतदान गर्न पाएनन् ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सभामुखको निर्वाचन २९ गते दिउँसो ११ बजे फेरि हुने बताए ।
सचिव बोगटीले मत वदर गर्ने प्रदेश सभा सदस्यको नाम भन्न नमिल्ने बताउनुभयो ।