६ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त



सत्ता गठवन्धनको मुख्य दल नागरिक उन्मुक्ती पार्टी तत्काल सरकारमा सामेल नहुने


धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।

एमालेका संसदीय दलका नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

रावल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रावल कञ्चनपुरबाट समानुपातिकतर्फबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ ।

मुख्यमन्त्री पदमा नियुक्त भएपछि रावलले पत्रकाहरुसित संक्षिप्त प्रतिक्रिया दिँदै आफूले सुदूरपश्चिमको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने बताए । उनले सुदूरपश्चिममा रहेका विद्यमान कुरुती र कुसंस्कारलाई हटाउने प्रतिवद्धता जाहेर गरे ।

बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको भएपनि एमाले नेतृत्वको सत्तारूढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिला गरेको थियो । रेशम चौधरीको रिहाइ सहितका मुद्दा सम्बोधन गरेको अवस्थामा मात्र सरकारलाई समर्थन गर्ने अडान लिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि अन्तिम अवस्थामा समर्थन गरेको थियो ।

रावलले आफूलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गर्नका लागि २९ जना प्रदेश सभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले प्रदेश सभामा तेस्रो ठूलो दल नेकपा (एमाले) का १०, दोस्रो दल नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाबाट एक जनाको समर्थन पाएका छन् ।

मुख्यमन्त्रीको दावेदारी प्रस्तुत तथा नियुक्तीका अवसरमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, नेताहरु निरु पाल, नारदमुनी राना, कमला बोहरा, सन्तोस शर्मा (छाया), प्रदेश सचिव धर्मराज पाठक लगायतका नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरी, राप्रपाका प्रदेश सभा सदस्य खिमादेवी विष्ट लगायतको पनि सो अवसरमा उपस्थिति थियो ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन गरे पनि माग, मुद्दा सम्बोधन नहुँदासम्म सरकारमा भने नजाने बताएको छ ।

सो पार्टीले टीकापुर घटनाको मुद्दा खारेजी, लाल आयोगको प्रतिवेदन सार्वजनिक र रेशम चौधरीसहितका टीकापुर घटनाका बन्दीका रिहाइको माग गर्दै आएको छ ।

माग पूरा नभएसम्म सरकारमा नजाने सो पार्टीको सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले बताए । ‘सरकारलाई हाम्रो समर्थन रहे पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुदैनौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार