७ पुष २०८१, आईतवार

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि भण्डारी र रावलको दावेदारी



सुदूरपश्चिम प्रदेशका सभामुखका उम्मेदवार क्रमश बाँयाबाट भीमबहादुर भण्डारी र दायाँतर्फ मानबहादुर रावल ।

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलको उम्मेदवारी परेको हो ।

नेकपा (माओवादी केन्द्र) का सभामुख पदका उम्मेदवार भण्डारीको प्रस्तावकमा नेकपा (एमाले) का प्रदेश सभा सदस्य जानकी ऐर (वम) र सर्मथकमा माओवादीकै गीतादेवी माल रहेकी छन् ।

यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार रावलको प्रस्तावकमा सोही पार्टीका मेघराज खड्का र सर्मथकमा पृथ्वीबहादुर सिंह छन् ।

सभामुख पदको विहीबार निर्वाचन हुने कार्यक्रम छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुख निर्वाचित हुनका लागि ५१ प्रतिशत अर्थात २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ ।

नेकपा (माओवादी केन्द्र) का सभामुख पदका उम्मेदवार भण्डारीले एमाले, माओवादी, नागरिक उन्मुक्ती र राप्रपाको सर्मथनमा आफू निर्वाचित हुने विश्वास व्यक्त गरे । प्रदेश सभामा नेकपा (एमाले) का १० र नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ती पार्टीका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् ।

नेपाली कांग्रेसका सभामुखका उम्मेदवार रावल पनि आफू जित्ने दावी गर्छन । उनले नागरिक उन्मुक्ती पार्टी र नेकपा (एकीकृत समाजवादी) लगायतको समर्थन पाउने दावी गरे ।

सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ती पार्टीले सत्तारुढ गठवन्धनमा समर्थन गर्ने प्रतिवद्धता गरेको भए पनि सो दलका प्रदेश सभा सदस्यहरु अझै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार