सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा आज दावेदारी प्रस्तुत हुने
धनगढी / सुदूरपश्चिम प्रदेशमा आज बुधबार मुख्यमन्त्री र प्रदेश सभाको सभामुख पदमा दावेदारी प्रस्तुत हुने भएको छ ।
मुख्यमन्त्रीमा आज साँझ ५ बजेसम्म दावे दारी प्रस्तुत हुने समयावधि रहेको छ ।
मुख्यमन्त्रीमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) को तर्फबाट एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दावेदारी प्रस्तुत गर्ने भएका छन् । एमालेलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने विश्वास गरिएको छ ।
यस्तै सभामुखमा बिहान १०ः ३० बजेदेखि २ः३० सम्म उम्मेदवारी दिने गरेर समयवधी तोकिएको प्रदेश सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।
एमाले र माओवादीले सभामुखमा माओवादीतर्फबाट उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।
माओवादीले कसलाई सभामुख बनाउने भनेर निर्णय भने गरिसकेको छैन ।
नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदावारी दिने नदिने विषयमा बिहान ९ बजे बैठक बसेर टुंगो लगाउने भएको प्रदेश सभा सदस्य पदमबहादुर शाहीले बताए ।