२ माघ २०८१, बुधबार

भारतबाट टीकापुर आइरहेको बस दुर्घटना, तीन नेपाली र एक भारतीयको मृत्यु




धनगढी/

भारतको गुजरात राज्यको राजकोटबाट नेपाल आइरहेको एक यात्रुबाहक बस आज सोमबार बिहान दुर्घटना हुँदा तीन नेपाली र एक भारतीय नागरिकको मृत्यु भएको छ । राजकोटबाट नेपालको कैलाली जिल्लाको टीकापुरतर्फ आइरहेको भारतीय नम्बर प्लेटको एक यात्रुबाहक बस आज सोमबार बिहान करिब ३ बजेतिर लखनउभन्दा करिब ३० किलोमिटर टाढा एक्सप्रेस हाइवेमा दुर्घटना भएको थियो । दुर्घटनाको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको एउटा तस्वीर अनुसार दुर्घटनाग्रस्त बसको नम्बर आरजे २७ पिए ५७०३ रहेको छ ।

नेपालदेखि भारत बस सेवा सञ्चालन गर्दै आएको एक कम्पनीका धनगढीमा रहेका कर्मचारी दिपेन्द्र बमका अनुसार दुर्घटनामा टीकापुरका बस मालिक ५५ वर्षीय चन्द्र साउँद, २० वर्षीया निर्मला बोहरा र ४५ वर्षीय ललित साउदको मृत्यु भएको छ । त्यस्तै, सोही बसको अर्को मालिक समेत रहेका भारतीय चालकको पनि मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा १५ जना बढी घाइते भएको खबर आए पनि पूर्ण विवरण प्राप्त हुनसकेको छैन । बसमा ६६ बढी यात्रु रहेको बताइएको छ । दुर्घटनास्थलबाट यात्रुले पठाएको दुर्घटनाग्रस्त बसको तस्वीरमा बस नराम्ररी क्षतीग्रस्त भएको देखिएको छ । घटनास्थलमा एउटा मालबाहक ट्रकको पछाडीको भाग क्षतीग्रस्त रहेको देखिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी थापाले घाइते तथा घटनाको थप विवरण प्राप्त गर्ने प्रयास भइरहेको जानकारी दिए । उनले नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा थप विवरण प्राप्त गर्ने काम अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार